तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले ट्याङ्की र पाइप बगाउँदा खानेपानी अभाव

सल्यान । गए राती आएको बाढी पहिरोले खानेपानी ट्याङ्की र पाइप बगाउँदा खानेपानीको अभाव भएको छ ।

भारी वर्षाका कारण आएको बाढीले तीन वटा मुहानमा रहेका ट्याङ्की र पाइप बगाउँदा दार्मा गाउँपालिका ५ का एक सय ७५ घरधुरीमा खानेपानी समस्या भएको छ ।

स्थानीय बासीका अनुसार खानेपानी अभाव भएपछि नजिकैको खोलाबाट पानी ल्याएर खानुपर्ने बाध्यता भएको छ । जुंगेपानी काफलनेटा लिफ्ट खानेपानी योजना, पांग्राखोला आल खानेपानी योजना र जुगेपानी पाङ्ग्रा भालुमारे उल्लेरी खानेपानी योजनाको ट्याङ्की र पाइप बाढीले बगाएको स्थानीय रामचन्द्र चन्दले बताउनुभयो । खानेपानीको मुहानमै बाढी पसेपछि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उहाँको भनाई छ ।

खानेपानीको मुहानको संरक्षण गरिदिन टुटफुट भएका र बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उहाँले आग्रह गर्नुभएको छ ।

गए राती आएको पहिरोले दार्मा गाउँपालिकाकै दुई घरमा सामान्य क्षति पुर्‍याएको छ । स्थानीय कर्णबहादुर खड्का र रामचन्द्र चन्दको घरमा सामान्य क्षति पुगेको छ । घरमाथिबाट आएको पहिरोले घर भित्तामा क्षति पुगेको पीडित कर्ण बहादुर खड्काले बताउनुभयो ।

बाढीले पांग्राखोला तल्लो बछेला सिँचाई योजनाको ट्याङ्की र पाइप समेत बगाएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button