तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण सुस्त

धनगढी- सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ‘छ लेन’ सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा निर्माणाधीन रहेको यो १४ किलोमिटर लामो सडक आयोजनाको पहिलो प्याकेजअन्तर्गतको काम आगामी मङ्सिरमा र दोस्रो तथा तेस्रो प्याकेजअन्तर्गतको काम आगामी माघ महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ । यो सडक निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि ९गएको जेठ महिना० सम्ममा निर्माण कार्य पूरा हुन नसकेपछि पछिल्लो पटक निर्माण अवधि केही महिना थपिएको छ ।

आयोजनाका प्रमुख होमबहादुर एसीले हाल सडकमा कालोपत्र गर्नेलगायतका कार्य भइरहेको बताउनुभयो । सडकमा पर्ने स–साना पुलेसाको निर्माण पूरा भइसकेकामा साविकको गेटा नजिक रहेको मनहरा नदी र सुनिखोलामा पर्ने पुल निर्माण ठेक्काको प्रक्रिया गर्ने भने अझै शुरु हुन सकेको छैन ।

“बन्दाबन्दीका कारण समयमै पुलको ठेक्का गर्ने कार्य अघि बढ्न सकेन”, आयोजना प्रमुख एसीले भन्नुभयो, “केही महिनापछि ठेक्काको काम पनि अघि बढाउन लागिएको छ ।” बन्दाबन्दीका कारण भएको मजदूरको अभावसँगै सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । बन्दाबन्दीले लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिन नसकिए पनि यो अवधिमा धुलाम्य र हिलाम्य सडक हुने समस्या समाधान गरिएको एसीले बताउनुभयो ।

बन्दाबन्दी शुरु भएसँगै घर गएका अधिकांश कामदार अझैँ नफर्किएको जनाइएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये शहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो ।

यसबाहेक साविकको सडक क्षेत्रका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो । यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् ।

शुरुको अवस्थामा सडक आयोजना कार्यालयका प्रमुखको पटकपटक सरुवा हुने भई कामको समयमै रेखदेख एवं निर्माणमा असर पुग्दा निर्माणमा समेत ढिलाइ भएको थियो । यो सडकको लागत इष्टिमेट रु एक अर्ब ६८ करोडको रहेको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवम् स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण कार्य भइरहेको हो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य यो सडकमा दैनिक साना ठूला तीन हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button