तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सरकारको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा

रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय सरकारहरुले आर्थिक वर्ष ०७७/७८ का लागि नीति तथा कार्यक्रम सहितको बजेट ल्याएका छन । स्थानीय सरकारहरुले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सहितको बजेट बिनियोजन गरेका हुन् ।

आर्थिक वर्ष ०७७/७८ का लागि रुकुम पश्चिमका ५ वटा स्थानीय तहले नीति, कार्यक्रम र बजेटसहितको गाउँ तथा नगर परिषद सम्पन्न गरेका छन् । ६ वटा पालिका रहेको जिल्लामा ५ वटा पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा पार्दै बजेट ल्याएका हुन ।

कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिएको पछिल्लो समस्या र त्यसको सामनाका लागि पालिकाले स्वास्थ्य संग सम्बन्धित नीति तथा कार्यक्रमलाई अझ बढी प्राथमिकतामा राखेको बताएका छन् । त्यस्तै रुकुम पश्चिम कृषि उत्पादन र पशुपालनमा राम्रो संभावना भएकाले यहाँको कृषि र पशु क्षेत्रमा पनि बजेट केन्द्रित गरिएको छ ।

देशमा बढ्दो बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न युवा लक्षित रोजगारमूलक कार्यक्रमलाई समेत पालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि ७० करोड ३६ लाखको बजेट ल्याएको छ । उक्त बजेट कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि बिनियोजन गरिएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिकाले पनि आर्थिक वर्ष ०७७/७८ का लागि ४३ करोड २७ लाखको बजेट ल्याएको छ । सानीभेरी गाउँपालिकाले ४१ करोड २० र त्रिबेणी गाउँपालिकाले ४० करोड ८३ लाखको बजेट ल्याएको छ । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिकाले ४९ करोड २० लाख को बजेट ल्याएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा शिक्षा र दोस्रो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई समावेश गरेको नगरपालिकाका प्रमुख बिशाल शर्माले बताउनुभयो ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले भने नयाँ आर्थिक बर्षको बजेट ल्याउन सकेको छैन । आन्तरिक तयारीका कारण केहि समय ढिला भएको र छिटै नगर परिषद हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button