तपाईँ सुन्दै हुनुहुन्छः

महिला तथा सामाजिक समितिको थारु आयोगलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले थारू समुदायको उत्थान तथा सशक्तिकरणका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा थारु आयोगको भुमिका थप प्रभावकारी बनाउन र हाल सम्म भएका क्षमता अभिवृद्धिका कार्यहरूको अनुगमन–मुल्याङ्ककनको प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

थारु आयोगको वाषिक प्रतिवेदन २०७६ माथि छलफल गर्न आज सिंहदरवारमा बसेको समितिको बैठकले थारू समुदाय भित्रका जातजातीहरूलाई बैज्ञानिक रूपमा सूचीकृत गर्न र मुक्त कमलरीहरूको विद्यमान अवस्थाको यथार्थ विवरण समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

यसैगरी बैठकले थारू समुदायमा व्याप्त रहेको सिकलसेल एनिमिया रोग नियन्त्रण गर्न यसै आर्थिक वर्ष भित्र बैज्ञानिक अध्ययन अनुसन्धान सुरू गर्न समेत निर्देशन दिएको छ ।

बैठकले थारु जातिको संस्कृति, संस्कार, प्रथा परम्परालाई समयानुकुल प्रबद्र्धन गर्न कुनै पनि आधारमा हुने विभेद तथा हिंसा अन्त्य गर्न, सामाजिक न्याय, समावेशीकरण उद्यमशिलता विकास गर्न आयोगलाई स्पष्ट नीति र कार्ययोजना निर्माण गरी सिघ्र कार्यसम्पादन गर्न गराउन पनि निर्देशन दिएको छ ।

बैठकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आवश्यक जनशक्ति र आर्थिक श्रोतको अभावमा आयोगले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

सांसदहरू थम मायाँ थापा, गंगा चौधरी, खेमप्रसाद लोहनी, नारायणप्रसाद खतिवडा, लगायतले थारू समुदायलाई राज्यको मूल धारमा समाहित गर्नका लागि आयोगको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button