तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायिक गाईपालनबाट मासिक लाखौं आम्दानी गर्दै शर्मा दम्पत्ति

सल्यान । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सल्यानका एक किसानले पुष्टि गरेको छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ कपुरकोटका केशव शर्माले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

आठ वर्ष पहिले दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्माको फर्ममा अहिले साना ठुला गरी २० वटा गाई रहेका छन् । २ सय गाई पालन गर्ने योजनाका साथ गाई पालन व्यवसाय गरी रहेको शर्माले वार्षिक १ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । दैनिक ७० लिटर दुध ५० रुपैया लिटरका हिसावले डेरीले लिने गरेको केशवले बताए । उनले भने ‘बजारको समस्या छैन बजारमा डेरी छ डेरीले जति पनि दुध लैजान्छ ।’

कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण केही समस्या भएपनि अहिले सहज भएको उनको भनाई छ । उनले भने ‘बन्दाबन्दी हुनुभन्दा अघि १ सय २० लिटर दुध भएपनि लकडाउन पछि दाना बजारको अभावका कारण दुध घटेको छ ।’

तिन लाखको लगानीवाट गाई पालन ब्यवसाय शुरु गरेको बताउदै केशवकी श्रीमती देवी शर्माले अहिले मासिक एक लाख सम्म आम्दानी हुने गरेको बताइन । उनले भनिन ‘सबै गाईले सधै दुध दिने कुरा भएन कहिले ९÷१० वटा दुहुना हुन्छन कहिले ३÷४ वटा मात्रै हुन्छन तर पनि गाईपालनबाट राम्रो फाइदा भई रहेको छ ।’ गाईको दाना, तीन जनाको परिवारको खर्च, छोराछोरीको पढाई खर्च सबै कटाएर वार्षिक ५ देखि ६ लाखसम्म बचत हुने गरेको उनको भनाई छ ।

गाईलाई आवश्यक पर्ने घाँसका लागि नौ रोपनी जग्गामा विभिन्न जातका घाँसको खेति गरेको देवाले बताइन । बारीमा नेपिएर, स्टाईलो जै घाँस र विभिन्न जातका डाले घाँसको खेती गरिएको छ उनले भनिन । प्रारम्भमा साविकको जिल्ला पशुसेवा कार्यालय सल्यानले सहयोग गरेको उनले बताइन ।

विगत केही वर्षयता जिल्लामा व्यवसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन वर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button