तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई बाँदर धपाउने ‘बन्दुक’ वितरण

तनहुँ । खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धपाउने ‘बन्दुक’(मङ्की एयर गन) वितरण गरेको छ ।

कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका ७ वटै वडामा ९० वटा बाँदर धपाउने बन्दुक वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । म्याग्दे गाउँपालिकाले स्याङ्गजाको वालिङ नगरपालिकाबाट २ लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष रानाले बताउनुभयो ।

दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दुक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो । ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ ।

गाउँपालिकाले बाँदर आतङ्कबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा ९० वटा उपकरण वितरण गरेको हो ।

बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

“तनहुँसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साँझा समस्या हो”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडा मार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गरेका छौं । उहाँले थप्नुभयो, “प्रत्येक वडाका विभिन्न टोलका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाका बारे आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ ।”

बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button