तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


चितवन । नेदरल्याण्डबाट सञ्चालित मिडोरा नेपाल हेल्थ फाउण्डेसन अन्तर्गतको सामुदायिक सहयोग केन्द्र, नेपालले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

आज अस्पताल परिषरमा एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी र मेडिकल डाक्टर सुपरिटेण्डेण्ट श्रीराम तिवारीलाई १० लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले यो सहयोगी संस्थाले हालसम्मकै ठूलो सहयोग गरेको बताउनु भयो । सीमित श्रोतसाधनबाट सञ्चालित अस्पताललाई यी सामाग्रीले स्वास्थ्यकर्मी, चिकित्सकलाई उर्जा प्रदान हुने उहांँले बताउनुभयो ।

संस्थाले तीनसय थान पिपिई, २ हजार थान फेस मास्क, ५० प्याकेट ग्लोब्स, ५ थान थर्मल गन लगायत ११ प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर तिवारीले कोरोना जोखिम न्यूनिकरणका लागि यस्ता स्वास्थ्य सामाग्रीको आबश्यकता भइरहेका बेला संस्थाले गरेको सहयोग अस्पतालको लागि ठूलो सहयोग भएको बताउनु भयो । यस अस्पतालमा देशकै विभिन्न जिल्लाबाट बिरामी आउने बिरामी चाप बढ्ने र जोखिम उपनि उत्तिकै रहेकोले सामाग्रीको भरपुर सदुपयोग गरिने बताउनुभयो ।

संस्थाका अध्यक्ष केशव पाण्डेले कोरोना भाइरसले सबैलाई आक्रान्त पारिरहेको बेला अस्पताललाई केही सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री प्रदान गरिएको बताउनुभयो । संस्थाले विगतमा विद्यालयहरुलाई सहयोग गर्दै आएको भएपनि यसपटक भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री प्रयोग गरिएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button