तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण सिकाइलाई निरन्तरता दिन विद्यार्थीको घरमै पुग्न थाले शिक्षक


मकवानपुर । विश्वभर माहामारीका रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन संचालन हुँदा तथा शैक्षिक क्षेत्र सुचारु हुन नसक्दा सबै भन्दा बढी मारमा भोलीका कर्णधार मानिने बिद्यार्थीहरु परेका छन् । यस्तो परिस्थितीमा मकवानपुरको एक आधारभुत सामुदायिक विद्यालयले विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न एवम् विद्यार्थीको शिक्षण सिकाइलाई निरन्तरता दिन विद्यार्थीको घर÷घरमै पुगेर गृहकार्य दिने कार्य सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्य ज्योती आधारभुत विद्यालयले हरेक विद्यार्थीको घरघरमै पुगेर गृहकार्य दिने कार्य सुरु गरेको हो ।

“विद्यालय खुल्ने वातावरण देखिँदैन्, हामीले घरघरमै पुगेर विद्यार्थीलाई पुस्तक उपलब्ध गराएका छौं, अब उनिहरुलाई पढ्ने बानीको विकास गर्ने तथा शिक्षण सिकाइलाई निरन्तरता दिने उदेश्यका साथ घरमै पुगेर गृहकार्य दिन सुरु गरेका हौं” विद्यालयका प्रधानाध्यापक पुरुषेत्तम आचार्यले भन्नुभयो । अधिकांश जनजाती, दलित तथा विपन्न समुदायका बालबालिका अध्यन गर्ने उक्त विद्यालयका शिक्षकहरु घरघरमै पुगेर गृह कार्य दिने गरेका छन् । लामो समय शैक्षिक क्षेत्र सुचारु नहुँदा विस्तारै विद्यार्थीमा पढ्ने बानी हट्दै गएको पाइएकोले अनौपचारीक शिक्षाका रुपमा शिक्षकहरु विद्यार्थीको घरमै पुगेर एक हप्ताका लागि गृहकार्य दिने र बिचबीचमा अनुगमनमा समेत जाने गरेको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो ।

“विद्यार्थीहरुसंग ईन्टरनेटको उपलब्धता नभएको साथै तल्लो तहका विद्यार्थीहरु शिक्षक अगाडी नभएसम्म नपढ्ने अथवा पढाईमा ध्यान नदिने हुनाले पनि हामीले यस्तो अनौपचारिक शिक्षाको अभ्यास गरेका हौं । यसले विद्यार्थीलाई पढ्ने बानीको विकास समेत भएको छ ।” प्रधानाध्यापक आचार्यले भन्नुभयो । यसले बिद्यार्थी एवम् अभिभावक समेत खुसि भएको उहाँले बताउनुभयो । शिशु कक्षा देखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल १ सय ४० जना विद्यार्थी अध्यनरत रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित श्रमिक माध्यमिक विद्यालयलाई कोरोना महामारीका कारण आइसोलेसन संचालन भएका कारण विद्यालयले टोलटोलमै कक्षा सञ्चालन गर्न थालेको छ । श्रमिक माविका शिक्षकले विभिन्न टोलमै पुगेर विद्यालयलाई पढाउन थालेको विद्यालयका प्राधानाध्यापक चर्तुभुज उपाध्यायले जानकारी दिनुभयो । यसैगरी हेटौंडा–११ डाङडुङे मा रहेको आनन्दभैरव आधारभूत विद्यालयले पनि टोलटोलमै कक्षा सञ्चालन गरिरहेको छ । मकवानपुरका अन्य सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीको घरमा गएर गृहकार्य दिने र शिक्षण सिकाईलाई अगाडी बढाउने काम गरेका छन् । यसबाट करीब ९० प्रतिशत विद्यार्थीहरु लाभान्वित भएको प्रधानाध्यापकहरुको भनाई छ । यता जिल्लाका स्थानीय तहहरुले आ–आफ्नै हिसाबले शैक्षिक कृयाकलापलाई सुचारु गर्ने विषयमा समेत गृहकार्य सुरु गरेको जिल्ला शिक्षा समिितका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button