तपाईँ सुन्दै हुनुहुन्छः

बाँकी रहेका काम पुरा हुने गरी स्वामित्व हस्तान्तरणको विषय सुनिश्चित गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि समाप्त हुँदा बाँकी रहेका कामको स्वामित्व हस्तान्तरणको विषय सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणसँग आज भएको छलफलपछि समितिले प्राधिकरणको आगामी पुस १० गते समय अवधि सकिएपछि निर्माणका चरणमा रहेका संरचनाहरूको निर्माणको काम अगाडी बढाउन र त्यसको स्वामित्व, रेखदेख, गुणस्तर स्रोत व्यवस्थापन र हस्तान्तरणको विषय सुनिश्चित गर्न निर्देशन दिएको हो ।

समितिले अन्तर निकाय तथा अन्तर तह समन्वय गरी अघि बढाउनु पर्ने पुनर्निर्माणका कार्य सम्बन्धी कागजातहरू निश्चित समय भित्रै काम सम्पन्न हुने गरी टुङ्गोमा पुर्‍याउने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

यस्तै निर्माणाधीन अवस्थामा रहेका धरहरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रानीपोखरी लगायतका स्थानहरूको अध्ययन तथा अनुगमन संसदीय टोली बनाइ गर्ने निर्णय समितिले गरेको छ ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा भूकम्प पछिको पुननिर्माणको काम विश्वमा नै गर्व गर्न सकिने गरी अघि बढेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म ९० प्रतिशत निजी घर पुननिर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको, शतप्रतिशत गुनासो फर्छ्यौट गरिएको तथा जनतासम्म पारदर्शी रूपमा पैसा पुर्‍याउन व्यवस्थित प्रणालीको विकास गर्न सफल भएको बताउनुभयो ।

उहाँले रकमको अभाव र कोरोनाका कारण केही कामहरू ढिलाइ भए पनि आगामी आर्थिक वर्षमा धेरैजसो काम सक्ने गरी अगाडी बढेको जानकारी दिनुभयो ।

उहाँले आगामी पुस १० गतेपछि प्राधिकरणको अवधि थप हुन नसकेमा पुरा हुन बाँकी कामको पुन निर्माणको ग्यारेन्टीसहित स्वामित्व हस्तान्तरण गर्ने विषयमा समेत तयारी गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ७४ प्रतिशत शिक्षण संस्थाहरूको निर्माणको काम सम्पन्न भएको, १५ प्रतिशत विश्वविद्यालय भवन निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

यस्तै नौ वटा एककिृत बस्ती विकासे, ५८ प्रतिशत स्वास्थ्य संस्था भवन निर्माण, ५९ प्रतिशत पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाहरू र ६०.५८ प्रतिशत विश्व सम्पदा क्षेत्रभित्र रहेका पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ ।

प्राधिकरणले हालसम्म धरहरा पुनर्निमाणको ४० प्रतिशत काम सम्पन्न भएको, आगामी तिहारसम्ममा रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला गर्न सकिने र दसैँ तिहारको बिचमा प्रधानमन्त्री कार्यालय पुरानै भवनमा सार्न सकिने गरी काम भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button