तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी आयोजना अज्ञात समूहले भत्कायो

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ को निर्माणाधीन अलैँची चोधार खानेपानी योजना अज्ञात समूहले भत्काएको छ ।

यही असार २३ गते राती खानेपानी योजनाको पाइप काटेको र इन्टेक भत्काएको खानेपानी योजना निर्माण समितिका अध्यक्ष पार्वती नेगीले बताउनुभयो । रातीको समयमा खानेपानी इन्टेक पुरै भत्काएको र पाइप काटेर क्षति पुर्‍याएको उहाँले बताउनुभयो । उहाँले रातीको समयमा ठुलै समूह आएर खानेपानी योजनामा क्षति पुर्‍याएको बताउनुभयो ।

खानेपानी योजनाका लागि किनेर ल्याएको २४ सय मिटर पाइप काटेको, सिमेन्टमा क्षति पुर्‍याएको र अन्य औजारहरू पनि लगेको उहाँले बताउनुभयो ।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।प्रहरी त्यहाँ पुगेर स्थलगत अध्ययनपछि फर्केको डिएसपी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको करिब १२ लाखको लागतमा सो योजना निर्माणको अन्तिम चरणमा रहेको बेला खानेपानी योजनामा अज्ञात समूहले क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रकाश रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button