तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकिदा क्वारेन्टाईनमा वस्ने मारमा


जनपुरधाम । प्रदेश नंं २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा कर्मचारीहरुको आन्तरिक द्वन्द्वले कोरोनाको पि सि आर परीक्षण विगत तीन दिन देखि बन्द छ ।

पि सि आर परीक्षण नै बन्द रहेका कारणले प्रदेशका विभिन्न क्वारेन्टाईनहरुमा रहेका व्यक्तिको स्वाव संकलन तथा परीक्षण कार्य प्रभावित बनेको छ । हिजो साँझ देखि परेको मुसलाधारे वर्षाका कारणले क्वारेन्टाईनमा रहेकाहरु झनै मारमा परेका छन् । वर्षाले उनीहरुलाई समस्या भएको छ ।

पि सि आर परीक्षणको आसमा भएकाहरुको परीक्षण नभएका कारणले समस्यामा रहेका छन् । विगत २५ दिन देखि क्वारेन्टाईनमा रहेकाहरु परीक्षण बन्द हुदा चिन्तित बनेका छन् । कोरोनाको परीक्षणका लागि प्रयोगशालामा चाहिने स्वास्थ्य सामाग्रीहरु किन्न नपाएका कारणले परीक्षण तीब्रगतिले गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिनुभयो ।

आफु मातहतका कर्मचारीलाई राजनीतिक संरक्षणका कारणले कारवाही गर्न नसकेका कारणले केही गर्न नसकेको र यस विषयमा सरोकारवाला निकायमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको प्रमुख साहले जानकारी दिनुभयो ।

कार्यालयमा लेखा प्रमुख तथा स्टोर किपरले साथ नदिएका कारणले आफूले सेवाग्राहीलाई सेवा पनि दिन नसकेको दुःखेसो पनि साहले गर्नुभएको छ । प्रयोगशालासंग बजेट पनि रहेको भएपनि कर्मचारीको तानातानले खरिद गर्न नसकेर परीक्षण तीब्र गतिले गर्न नसकेकोे स्वीकार गर्नुभयो ।

परीक्षण नभएका कारणले प्रदेशमा अहिले कोरोना संक्रमित थपिएको छैन । विगत दुई दिन यता प्रदेशमा कोरोनाको अवस्थाका बारेमा सामाजिक विकास मन्त्रालयले कुनै प्रकारको जानकारी नै दिएको छैन ।

यसै बीच सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले विवादको समाधानका लागि प्रयास गरेपनि कर्मचारीहरुलाई राजनीतिक संरक्षण भएका कारणले केही गर्न नसकेको श्रोतले जनाएको छ ।

प्रादेशिक प्रयोगशाला जनकपुरधामले नै नारायणी उपक्षेत्रिय अस्पताला वीरगञ्ज तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्दै आएकाले सो ठाउँमा पनि परीक्षण प्रभावित बनेको छ ।

धनुषा जिल्लाको विभिन्न क्वारेन्टाईनमा ३ सय ५७ जना अहिले पनि रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उहाँहरु परीक्षणको पखाईमा रहनु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button