तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाको कारण रौतहट, बारा, पर्साको जनजीवन प्रभावित

बीरगंज । गए राति देखिको अविरल वर्षाको कारण रौतहट, बारा, पर्साको जनजीवन प्रभावित बनेको छ । वर्षाको पानी जाँदाजाँदै रौतहटको चन्द्रपुर नजिकै सडकमै बाढी पसेपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध बनेको हो ।

बिहानैदेखि जङ्गलको पानी सडकमा बढदैगएको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुर रौतहटका प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिनुभयो ।

बाढीको कारण पूर्व पश्चिमबाट आएको दर्जनौँ सवारी साधनहरू चन्द्रपुर चोक र लचका नजिक रोकिएका छन् ।

त्यसै गरी अविरल वर्षाले रौतहट जिल्लाको बागमती र लाल बकैया नदिका साथै साना खोलाहरूमा पनि पानीको सतह बढ्दै गएको छ ।

लाल बकैया नदिमा आएको बाढीले कटहरिया–४ र देवाहीघाट नजिक तटबन्धमा कटान गरेको स्थानीय तवारख मियाले बताउनुभयो । बकैया र बाग्मती नदिमा पानीको स्तर बढ्न थालेपछि स्थानीय प्रशासनले सजग रहन सबैलाई अनुरोध गरेको छ ।

लगातारको वर्षाले गौर,चन्द्रपुर बाहेक १६ वटै स्थानीय तहको बाटोहरू पुर्णरुपमा प्रभावित हुँदा आवत जावत ठप्प भएको छ ।

यसै गरी पर्साको ठोरी, सदरमुकाम वीरगंजसँग सम्पर्क विच्छेद भएको छ । बीरगंज ठोरी सडक खण्डको ठोरी तथा सुवर्णपुर क्षेत्रका दर्जनौँ स्थानमा बाढीले सडक बगाउँदा स्थानीय बासिन्दाहरूको आवत जावत ठप्प भएको छ ।

यसै गरी अविरल वर्षाको कारण बाराको ग्रामीण क्षेत्रमा डुबान भएको छ । पानीको निकास नहुँदा बाराको पूर्व क्षेत्रका गाउँपालिकाहरू डुबानमा परेको स्थानीय शिव शंकर मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button