तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा मधुश्रावणी पर्व आज देखि शुरु

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशमा मैथिल महिलाहरुले प्रत्येक वर्ष मनाको धार्मिक तथा सांस्कृतिक पर्व मधुश्रावणी आज देखि प्रारम्भ भएको छ ।

प्रत्येक वर्ष श्रावण कृष्णपक्ष पञ्चमी तिथिका दिन देखि १५ दिनसम्म मनाईने मधुश्रावणी पर्वले मिथिलाको गाउँ तथा नगरमा विषेश चहल पहल तथा रौनकता हुने गरेको छ ।

यस पर्वमा नव विवाहिता कन्याहरुले ससुराली पक्षबाट आएका रङ्गी चङ्गी साडी, चोलो, चुरा, पेते सहितको गरगहना लगाएर सजिएर गाउँ तथा नगर नजदिकको सार्वजनिक फूलबारीमा भेला भएर मधुश्रावणी सम्बन्धि सास्ंकृतिक तथा लौकिक गीतहरु गाएर फूल टिप्ने गरेका हुन्छ ।

यसमा नव विवाहिता कन्या सहित गाउँ नगरका अन्य कन्याहरु समूहमा नै भेला भएर हस्सी ठट्टा गरेर साझ तीर फूल टिप्ने गर्दछन् । टिपेको फूल सहितको डालोलाई राति घरको छत, आङ्गनमा राखेर प्रत्येक दिन विहान बाँसी फूलले नै शिव गौरी तथा नागदेवताको पूजा गर्ने चलन रहेको छ ।

पूजा गर्दा कतिपय अवस्थामा श्रीमान् पनिसँगै बस्ने चलन रहेको छ । पूजामा कथा सुनाउने कथाईनले नाग नागिनको कथा सुनाउने गर्दछन् । प्रत्येक दिन आङ्गनमा शुद्ध बनाईएको ठाउँमा पूजा गर्ने तथा कथा सुन्ने गरिन्छ । मधुश्रावणी अवधिमा श्रीमान्को घरवाट आएको खाद्यान्नका परिकारहरु पकाएर खाने गरेका हुन्छन् ।

नागपञ्चमी तीथिवाट शुरु भएर १५ दिनसम्म चल्ने यो पर्वको अन्तिम दिन विषेश धुमधामले विषेश पूजा गरेर पर्वको समापन गरिन्छ । यस दिन श्रीमान्को घरबाट आएको भार कोसेलीहरु चना, केराउ, फलफूल, पुडुकीया सहितको मिष्ठान्न, दही, आँप, च्युरा सहितको खाद्यान्न सामाग्रीहरु खुवाउने तथा वितरण गर्ने गर्दछन् ।

यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, लोहार र सोनार सहितका जातिमा मनाइने भएपनि केही समय यता अरु केही जातले पनि मधुश्रावणी मनाउन थालेका छन् ।

श्रीमान्को दीर्घायु तथा दाम्पत्य जीवन सुखमय बनाउनका लागि पर्व मनाईने गरिन्छ । मधुमासमा मनाईने भएकाले यसलाई मधुश्रावणी पनि भनिएको छ । यस समयमा आँप, कटहर तथा लावा, दुधको विषेश महत्व रहेका हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button