तपाईँ सुन्दै हुनुहुन्छः

विष्णु पादुका क्षेत्र हस्तान्तरण

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ । नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र सांसद महेश बस्नेत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा अनावरण गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आज हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतले विपद् र कोरोना सङ्क्रमणको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तपुरमा देखाएको भूमिका उल्लेख्यनीय भएको चर्चा गर्दै विकासमा समेत सहयोगात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रधान सेनापति थापाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताउनुभयो । उहाँले जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बद्र्धन गर्दै आएको चर्चा गर्नुभयो । विकासमा नेपाली सेना हरदम खटिरहने उहाँको भनाइ थियो ।

वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले यस क्षेत्रमा रु २४ लाख ८० हजार २१० को लागतमा सत्तल, ढुङ्गेधारा, पोशाक फेर्ने कक्ष, पर्खाल, फलामे पुल, बाटो, हवन घर र मठ निर्माण गरिएको बताउनुभयो । उहाँले नेपाली सेनाका एक हजार ८६० को श्रमदानले संरचना निर्माण सम्पन्न भएको बताउँदै उक्त संरचना निर्माणमा कूल रु ४५ लाखको खर्च अनुमान गरिएको बताउनुभयो । सेनाले करिब रु २० लाख बराबरको श्रमदान र अन्य सेवा गरेको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button