तपाईँ सुन्दै हुनुहुन्छः

६ दशक बढी साहित्यमा योगदान दिनुभएको वरिष्ठ साहित्यकार वनवासीलाई सम्मान

स्याङ्जा । ६० वर्ष बढी साहित्यमा योगदान पुर्‍याउनुभएको वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई सम्मान गरिएको छ ।

वनवासी ज्याग्दीखोला साहित्य प्रतिष्ठान–२०७७ बाट सम्मानित हुनुभएको हो । ८० वर्षीय वनवासीले साहित्यमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै प्रतिष्ठानले भानु जयन्तीका अवसरमा सम्मान गरेको हो ।

वनवासी यसअघि विभिन्न ५३ वटा पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ । उहाँका कविता, बालकथा, बालजीवनी, गद्य, लेख, निबन्ध गरी ५ दर्जन बढी कृतिहरू प्रकाशित छन् ।

२०७औँ भानु जयन्तीको अवसरमा ज्याग्दीखोला साहित्य प्रतिष्ठानको आयोजना भेषराज साहित्य प्रतिष्ठानको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा स्रष्टा सम्मान, ज्याग्दीखोलाको तरङ्ग अकं १८ र १९ को लोकार्पण र २६ औँ रचना वाचनका सन्दर्भमा वनवासीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

सम्मान तथा लोकार्पणका अवसरमा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले उमेरले ८० पुग्नुभएका वनवासी समाजको नक्षत्र भएको बताउनुभयो । उहाँले साहित्यप्रति दिनुभएको योगदान र त्यागलाई सबैले सम्मान गर्नुपर्ने भन्दै साहित्यका माध्यमबाट समाज र सिङ्गो राष्ट्रलाई नै सही मार्गमा हिँडाउन सकिने बताउनुभयो ।

साथै ज्याग्दीखोला तरङ्गको १८ औँ र १९ औँ अङ्कको टिप्पणी प्राज्ञ दिपक लम्साल र समीक्षा भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले गर्नुभएको थियो ।

दुई तरङ्गमा कथा, कविता, गजल, दर्शन, समीक्षा, लेख, दर्शन, व्यक्तित्व तथा कृतित्व, नियात्रालगायत प्रकाशित छन् ।

साहित्यकार मिलन समीरले वनवासीको परिचय तथा उहाँको साहित्यप्रतिको योगदानका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button