तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा लकडाउनको उल्लंघन वृद्धि

सप्तरी । भारतको विहार राज्यसँगै सिमाना जोडिएको सप्तरीमा लकडाउनको उल्लंघन हुने गरेको छ ।

मास्क नलगाईकन हुलका हुल मानिस निस्कने तथा सामाजिक दुरी कायम नगरी एकै ठाँउमा भिडभाड हुन थालेपछि कोरोना सङ्क्रमणको जोखिम बढाएको हो । लकडाउनको पालना गर्न ठाउँ ठाउँमा सचेतनामूलक ब्यानर पनि राखिएको छ तर, अधिकांशले सोको बेवास्ता गरेको पाइएको छ ।

सरकारको निर्णय अनुसार स्थानीयवासीले भारतबाट घर फर्कनेहरूलाई एक मात्र आधिकारिक नाका कुनौलीलाई तोकेको छ ।

प्रहरीले त्यसमा कडाइ गरिएको र सो नाकाबाट आउनेहरूलाई सोझै क्वारेन्टाईनमा राखिने गरिएको बताइरहेको छ । तर, भारतको विहार राज्यसँग जोडिएको ७२ किलो मिटर लामो खुला सीमाका कारण प्रहरीको आँखा छलेर लुकीछिपी मानिसहरू आउने क्रम अहिले पनि कायमै रहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको भनाई छ ।

त्यस्तै मास्क नलगाई जिल्ला भित्र चल्ने गरेका सिटी रिक्सामा यात्रा गर्नेहरूको समेत सङ्ख्या अत्यधिक रहेको तथा बजार, कार्यालय र पसलहरूमा भिडभाड बढेका कारण सङ्क्रमणको जोखिम उच्च रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाको भनाई छ ।

उहाँले यही रवैया रहे सङ्क्रमणको अवस्था भयावह हुने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन र यसतर्फ ध्यान दिन सचेत समेत गर्नुभएको छ ।

सरकारले भिडभाड नगर्न गरेको आग्रहको अवज्ञा गर्दै होटेल, रेस्टुरेन्ट, चिया पसल, पान पसल, कार्यालय लगायतका ठाउँमा मानिसहरूको जमघट हुने क्रम निरन्तर बढिरहेको छ । मास्क नलागाईकन नजिकै बसेर गफ गर्ने परम्परा बढ्दै गएका कारण सङ्क्रमणको जोखिम अभैm बढेको हो ।

सप्तरीमा बुधवार मात्र जिल्लामा १३ जना नयाँ सङ्क्रमित फेला परेको थियो । योसँगै जिल्लामा बिहीबार सम्ममा सङ्क्रमितको सङ्ख्या तीन सय ४४ पुगेको छ ।

लकडाउन उल्लङ्घनले गर्दा त्यसको पालना गर्ने समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीहरुले लकडाउनको पालना गराउन स्थानीय प्रशासनले कडाइ गर्नु पर्नेमा जोड दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button