तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार लाटो साथीको निधन

काठमाडौँ- संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मनुभएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउनुहुने डा आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उहाँले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गर्नुभएको जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिनुभयो ।

‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पार्नुभएको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलले बताउनुभयो । सरल भाषामा उहाँले कपिलवस्तुको महत्व उपन्यासमार्फत पाठकसमक्ष पस्कनुभएको छ । भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उहाँको रुचि थियो । घरपरिवारमा संस्कृतमै वार्तालाप गर्नुहुने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गर्नुभएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button