तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहले उखेलेर फालेको पिलर पुनः गाडिएपछि ठोरीको तनाव साम्य

 वीरगंज । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालेको केहि समयपछि पुनः सोही स्थानमै गाडिएको छ ।
अज्ञात समूहले सिमा स्तम्भ उखेलेर फालेपछि हिजो अपरान्ह ४ बजे देखि राति अबेर सम्म ठोरी क्षेत्र तनावपूर्ण बनेको थियो ।

दुवै देशको सहमतिमा उखेलिएको ठाउमै पिलर गाडिएपछि उत्पन्न तनाव साम्य भएको छ । दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले बताउनुभयो ।

प्रहरी निरीक्षक दाहालका अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ तथा भारतका तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्ड सिंह र भिखना ठोरीस्थित एसएसबीका इन्सपेक्टर प्रमित जैसवालको रोहबरमा उखेलिएको पिलर यथास्थानमै गाडिएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार दुवै देशका स्थानीयस्तरका सीमा सुरक्षा अधिकारीहरुको रोहबरमा पहिलेकै स्थान र सोही दिशामा पिलर गाडिएको छ । सीमा स्तम्भ उखेलिएको थाहा पाएपछि ठूलो संख्यामा भेला भएका ठोरीका बासिन्दाले सीमा स्तम्भ पहिलेकै ठाउँमा गाड्न दबाव दिएका थिए ।

सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ उखेलिएको बारेमा सशस्त्र प्रहरीले शनिबार दिउँसो चार बजेतिर थाहा पाएको थियो । सीमा स्तम्भ नजिकै रहेको सीता गुफामा बिहानैदेखि पूजापाठ भएको थियो । मध्यान्हसम्म सीमा स्तम्भ सुरक्षित नै थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button