तपाईँ सुन्दै हुनुहुन्छः

महाशिला परिषरमा १०८ धारा निर्माण

पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ लुँखु स्थित मेहलढुंगामा १०८ धारा निर्माण गरिएको छ । गाउँपालिकाको प्रमुख पर्यटकिय तथा धार्मिक महत्वको उक्त स्थानमा हालै १०८ धारा निर्माण गरिएको हो । नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत महाशिला क्षेत्र समाबेश छ ।

गाउँपालिकाले यो क्षेत्रमा देश बिदेशका पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ । पर्यटन प्रबद्र्धन गर्न १०८ धारा निर्माण गरिएको र महाशिलामा अर्ध नारेश्वरको मूर्ती कुँद्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले बताउनुभयो । उहाँले यहाँ मन्दिर र सत्तल पनि बनाएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रदेशका पर्यटकीय ठाउँहरूको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले महाशिला क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ अनुदान दिएको थियो । सोही रकमबाट डिपिआर तयार गरेर महाशिला क्षेत्रको विकासका लागि विभिन्न कामहरू भइरहेको र अब कम्तीमा पनि २ सय जना मानिस अटाउन सक्ने गरी आश्रय स्थल निर्माण गर्ने पालिकाको योजना छ । शिलाको उचित प्रचारप्रसार हुनसके धेरै विदेशी पर्यटकहरु आउने तथा महाशिलाकै चिसापानी क्षेत्रमा रहेको पदमार्गमा पनि उनीहरूलाई लैजान सकिने पौडेलले बताउनुभयो । महाशिला सम्म जाने सहज सडक बनाउन थालिएको छ । महाशिला ५ लुँखु देउरालीमा रहेको शिलाको प्रचारका लागि नाकाहरुमा बोर्ड राखिने भएको छ ।

शिव पुराणमा भगवान् शिवले युद्ध गर्दा नन्दीको रूप धारण गरी लड्दा नन्दीको एउटा सिङ भाँचिएको र त्यही सिङ नै शिला बनेर प्रतीकको रूपमा रहेको भन्ने उल्लेख गरिएको धार्मिक पूजाआजामा संलग्न रहँदै आएको केही पुजारीहरू बताउँछन् । स्थानीयले यो शिलालाई मेहलढुंगा भनेर नामाकरण गरेका थिए । कालान्तरमा यसलाई महाशिला भन्न थालिएको स्थानीय डिल्लीराम शर्माले बताउनुभयो ।

पर्वतकै पाङमा जन्मिएकी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउँ भनी गरेको ब्रत र तपस्यापछि भगवान् शिव अहिलेको शिला रहेकै ठाउँमा उत्पत्ति भएर पार्वतीलाई दर्शन दिएको भन्ने किंवदन्ती पनि महाशिला क्षेत्रमा सुन्न पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button