२०७७ साल साउन ३० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा सेना,प्रहरी,कैदीबन्दी र चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

ध्रुब अधिकारी २०७७ साउन १४ गते ११:१०

वीरगंज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणकोक्रममा नेपाली सेना, नेपाल प्रहरी, कैदीबन्दी सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

परिक्षणकोक्रममा २ देखि ६५ वर्ष उमेर समूहका ३४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

संक्रमित मध्ये बीरगंज कारागार भित्र रहेका ६ जना कैदिबन्दी, ३ जना प्रहरी र २ जना कर्मचारी कोरोना संक्रमित भएको पुष्टि भएको छ भने नेपाली सेनाका १ जना, नारायणी अस्पतालका १ जना चिकित्सक र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी अन्य संक्रमित मध्ये २० जना वीरगञ्जका रहेका छन् ।

वीरगञ्ज महानगरपालीकाको वडा नं १५ भिषुवाका ८ जना, वाडा नम्बर ४ बीर्ताका ११ जना, वाडा नम्बर ५ कुम्हाल टोल तथा जेलरोडका ३ जना, वडा नम्बर २५ सिर्सीयाका ३ जना, वडा नम्बर ९,११,१२,३२ का एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बीरगंज वडा नम्बर १० आदर्शनगरमा कोरोना संक्रमित भई मृत्यु भएका श्यामसुन्दर बगरियाको निकटमा रहेकाहरुलाई कन्ट्रयाक्ट टे«सिङ्गको आधारमा परिक्षण गर्दा थप दुई जना संक्रमित भेटिएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

पर्सामा बिगत केही दिनयता संक्रमितको संख्या बढ्दै गएको र नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा संक्रमित राख्ने क्षमता नहुँदा समस्या भएको मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा अहिले ६२ जना संक्रमितलाई आईशोलेशनमा राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलमा राखिएको छ । पाँच जना पर्सागढीमा, ३ जना सखुवाप्रसौनीमा र १ जनालाई ठोरीमै राखिएको छ । तर ती पालिकाहरुमा आइसोलेसन नरहेको डाक्टर उपाध्यायले बताउनुभयो ।

हाल एक घर एक परिक्षण अभियान अन्तर्गत संकलन गरिएको १५ सय भन्दाबढि स्वाबको नमुना परीक्षणको क्रममा रहेको अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।