तपाईँ सुन्दै हुनुहुन्छः

खेल तयारीका लागि पुरुष फुटबल खेलाडीहरु क्वारेन्टिनमा बस्ने

काठमाडौं । फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी आजदेखि क्वारेन्टिनमा बस्ने भएका छन् ।

टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले दुई चरणमा क्वारेन्टिन र पीसीआर परिक्षणपछि मात्र प्रशिक्षण सुरु हुने जानकारी दिनुभयो । ‘उपत्यकाबाहिर रहेका खेलाडी शुक्रबार साँझसम्म राजधानी आइपुग्ने छन् ।

उनीहरुलाई एन्फाले होटेलमा क्वारेन्टिनको व्यवस्था गरेको छ । केही दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ । उपत्यकामा रहेका खेलाडी भने आ–आफ्नो घरमै सेल्फ क्वारेन्टिनमा बस्नेछन् ।

कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहारअघि आफ्नो खेल खेल्नेछ । छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ ।

नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।

पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button