तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा नमुना विद्यालय विकास सम्बन्धी अन्तरक्रिया

 

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयलाई नमुना बनाउने सन्दर्भमा सरोकारवालाहरू बिच अन्तरक्रिया गरिएको छ ।

सरकारले यसै वर्ष नमुना विद्यालयको रूपमा छनोट गरेको उक्त विद्यालयलाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयमा विज्ञसहितको टोली राखेर अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शैक्षिक क्षेत्रमा रहेका विभिन्न विकृतिहरूलाई सुधार गर्न सके सबै सामुदायिक विद्यालय नमुना बन्न सक्ने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भूमिका सबै भन्दा महत्त्वपूर्ण हुने हुँदा शिक्षकहरू त्यसमा लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले सबै भन्दा ठुलो समस्या कोही पनि शिक्षकहरू विकट क्षेत्रमा गएर पढाउन नचाहने र सुगम मात्र रोज्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो–“कोही पनि शिक्षक दुर्गममा गएर पढाउन तयार हुँदैनन् । शैक्षिक क्षेत्रलाई उठाउन शिक्षामा योगदान गर्छु भन्ने शिक्षक भेटिन मुस्किल छ ।” उहाँले शैक्षिक क्षेत्रको उन्नतिका लागि साथै विकास र समृद्धि प्राप्तिका लागि चेतना महत्त्वपूर्ण भएको हुनाले शिक्षकले दुर्गम क्षेत्रको शैक्षिक विकासमा योगदान गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक चन्द्रप्रसाद लुइँटेल, भूकम्प पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समिति सह अध्यक्ष एवम् नमुना विद्यालय राष्ट्रिय सञ्जाल अध्यक्ष पूर्णप्रसाद दवाडीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रभावकारी शिक्षणका विषयमा बद्री पाठक, नमुना विद्यालय विकासको लागि आवश्यक पहलका विषयमा पूर्णप्रसाद दवाडी र समग्र शैक्षिक विकास तथा विद्यालय सञ्चालनका विषयमा चन्द्रप्रसाद लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, थाहा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीलगायत सरोकारवालाहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button