तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी बयोधा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । नारायणी बयोधा हस्पिटल गण्डक बहुअरीमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएकी ५० बर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा मृतक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

गत बुधवार नारायणी बयोधा अस्पतालमा भर्ना भई निमोनियाको उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनुभन्दा अघि उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा मृतक महिलाको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ छ ।

यसैबिच वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवास्थित गणेश टोलमा ६५ वर्षीय एक वृद्धको आफ्नै घरमा मृत्यु भएको छ ।

वृद्धको स्वाब सङ्कलन गरिएको र पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले बताउनुभयो ।

बृद्धलाई समेत कोरोना सङ्क्रमण हुन सक्ने आशङ्का गरिएको छ । वीरगन्जमा एक साता यता कोरोना सङ्क्रमणको कारण १० जनाको ज्यान गएको छ ।

यसैबिच आज साँझ गण्डक अस्पतालबाट कोरोना निको भई ६ जना घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button