तपाईँ सुन्दै हुनुहुन्छः

‘बेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा’

भुवनप्रसाद आचार्य । कर्मचारी संचयकोषको नेतृत्वमा निर्माण गर्न लागिएको ४४२ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाले सतही अध्ययन सकेर भौगर्भिक अध्ययनका लागि अडिट टनेल निर्माण गर्ने उद्देश्यले क्याम्प हाउस निर्माणको ठेक्का समेत आह्वान गरेको छ ।

उक्त आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले अछामको ढकारी गाउँपालिकामा क्याम्प हाउस निर्माणको ठेक्का प्रक्रिया सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले जानकारी दिनुभयो ।

आयोजनाले सुरूमा ६८८ मेगावाट क्षमताको अध्ययन अनुमति पाए पनि अब आयोजनाको क्षमता ४४२ मेगावाट मात्रै हुने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने काम भइरहेको पनि रौनीयारले बताउनु भयो ।

तीन महिनाभित्रमा डिपीआरको काम सक्ने र आयोजनाबाट प्रभावित हुने करिब दुई हजार ४०० रोपनी जग्गा अधिग्रहणको लागि आवश्यक तयारी समेत अघि बढाएको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको लागि सञ्चयकोषले नेपाल एसबिआई बैंक र नबिल बैंकसँग २५ अर्ब रुपैयाँ सहवित्तीयकरणको सम्झौता गरिसकेको छ ।

आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत र सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १० र १० प्रतिशत तथा स्थानीय प्रभावितको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत गरी २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनेछ । आयोजना निर्माण लागत करिव ७६ अर्ब रूपैया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button