तपाईँ सुन्दै हुनुहुन्छः

आँबुखैरेनी, हिलेखर्कका किसान टिमुर खेतीतर्फ आकर्षित

तनहुँ । व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका किसान खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका हिलेखर्कका ६२ किसान व्यावसायिक रुपमा टिमुरखेतीमा संलग्न भएका छन् । उक्त क्षेत्रमा अहिले २०० रोपनी क्षेत्रफलमा करिब २० हजार टिमुरका बिरुवा लगाइएको छ । त्यसक्षेत्रमा रहेका ६२ घरधुरी मिलेर सबैले आ–आफ्नो क्षमताअनुरुप टिमुरखेती गरेको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

पच्चीस जनाको समूह गठन गरी व्यावसायिक रुपमा टिमुरखेती अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ ।

हिलेखर्क टिमुरखेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुरखेती गरेको समूहका सचिव युवराज गुरुङले बताउनुभयो ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् ।

रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि त्यसक्षेत्रमा अभियानकै रुपमा टिमुर खेती थालिएको छ । स्थानीयवासी जीतबहादुर गुरुङले करिब एक हजार ५०० टिमुरका बिरुवा लगाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button