तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीमा कोराना सङ्क्रमण पुष्टि, तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय बन्द

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि तीन दिनका लागि गाउँपालिकाले कार्यालय बन्द गरेको छ ।

गाउँपालिकाले क्वारेन्टाइनमा बसेका र कर्मचारीहरुको साउन १४ गते संकलन गरेको स्वाबको परीक्षणमा ४२ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले आइतबार आकस्मिक बैठक बसी तीन दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साउन १८ देखि २० सम्म कार्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यालय परिसर जोखिम रहेकाले तीन दिन कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका कर्मचारीले केही दिनअघि बिरामी आमालाई कठमाडाँको अस्पतालमा भेटेर फर्किएका थिए । संक्रमित कर्मचारी पोखरास्थित होम आइसोलेसनमा रहेका छन् ।

२९ जनाको स्वाब संकलन
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका फ्रन्ट लाइनका २९ कर्मचारीको स्वाब संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगम उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिकामा आएर सेवा लिने केही स्थानीयवासीको समेत स्वाब संकलन गरिने शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

संक्रमितसँग सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उपाध्यायले बताउनुभयो । सोमबार पनि कन्ट्याक्ट ट्रेसिङको काम हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button