तपाईँ सुन्दै हुनुहुन्छः

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अछाम खण्ड जोखिममा

अछाम । वर्षाका कारण अछाम जिल्लामा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको कैलाशखोला बयालपाटा सडक खण्ड जोखिममा परेको छ । वर्षाका कारण माथिबाट सडकमा पहिरो गएको र तलबाट समेत सडक भाँसिएका कारण सडक खण्ड नै जोखिममा परेको छ ।

एक वर्ष अगाडि मात्रै कालोपत्रे गर्ने कार्य गरिएको करिब १२ किलोमिटर सडक जोखिममा परेको हो । सडकको दर्जनौँ ठाउँमा पहिरो आएको छ भने त्यति नै ठाउँमा सडक भासिएको समेत छ । सडक खण्डको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाको मोटनामा माथिबाट ठुलो पहिरो आएका कारण सडक अवरुद्ध भएको र उक्त पहिरोलाई डोजर लगाई पन्छाउने कार्य भइरहेको वडा नम्बर ९ का अध्यक्ष टंक कुँवरले बताउनु भयो । सडकमा साना ठुला पहिरा आएका छन् भने सडक भासिएको समेत छ । वर्षाका कारण सडकमा ठुलो क्षति पुगेको वडा अध्यक्ष कुँवरले बताउनु भयो ।

पुष्पलाल (मध्येपहाडी) लोकमार्ग अन्तर्गत अछाम खण्डमा पर्ने ठाँटीखाँद–विनायक खण्ड पनि जोखिममा परेको छ । एक वर्ष अघि कालोपत्रेको काम सकिनु पर्ने उक्त सडक खण्डमा कालोपत्रेको काम नै सकिएको थिएन । अहिले पहिरोका कारण सडक निकै जोखिममा रहेको एक जना स्थानीय सत्यराज तिमिल्सिनाले बताउनु भयो । करिब १८ किलोमिटर सडकमा कालोपत्रे नै नभएको र हाल पहिरोका कारण ठुलो जोखिम रहेको छ । लेकाली भेगमा पर्ने उक्त क्षेत्रमा ठाउँ ठाउँमा पानीका मूल समेत फुटेका कारण पुरै हिलाम्मे बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button