तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज कारागारमा १३ संक्रमित भएपछि एक सय १८ जनाको स्वाब संकलन

वीरगंज । वीरगंज कारागारमा संक्रमित भएका १३ जना कैदीबन्दी तथा सुरक्षाकर्मीको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा सम्पर्कमा आएका १ सय १८ जनाको आज पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

कारागार भित्रका कैदीबन्दी मध्ये ५५ जना पुरुष, ९ जना महिला, १ जना नावालक, ३१ जना नेपाल सेनाका सुरक्षाकर्मी, ७ जना नेपाल प्रहरीका सुरक्षाकर्मी र १५ जना वीरगंज कारागारका कर्मचारी गरि १ सय १८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको वीरगंज कारागारका प्रमुख श्रवण पोेखरेलले जानकारी दिनुभयो ।

गत मंगलबार वीरगंज कारागारमा ८ जना कैदीबन्दी, ३ जना सुरक्षाकर्मी र २ जना कर्मचारी गरि १३ जना संक्रमित पुष्टि भएको थियो । संक्रमित कैदीबन्दी, कार्यालय सहयोगी र प्रहरीलाई कारागार परिसरमा रहेको समता स्कुल र अस्पतालमा आइसोलेट गरिएको कारागार प्रमुख पोखरेलले बताउनुभयो ।

अदालत र अस्पताल आउजाउ गर्नेहरु मध्ये २२ जनाको परीक्षण गर्दा १३ जना संक्रमित फेला परेका थिए । कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका १ सय १८ जनाको आज स्वाब संकलन भएको हो ।

हाल वीरगंज कारागारमा रहेका कैदीबन्दीहरु मध्ये एक सयभन्दा बढीमा ज्वरो र रुघाखोकीका लक्षण देखिएपछि विरामीहरुलाई छुट्टै ब्लकमा राखिएको भए पनि धारा र शौचालय सबैले एउटै प्रयोग गर्दा यदि ज्वरो र रुघाखोकी आएका विरामीमा संक्रमण फैलिएको भए कारागार उच्च जोखिममा पर्ने देखिएको छ ।

यता कारागार प्रशासनले सामान्य फ्लू भएका हुँदा नआतिन कैदीबन्दीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button