तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

तनहुँ । तनहुँमा फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन ।

जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादी पक्राउ गर्न आफ्नो सक्रियता बढाए संगै पक्राउ पर्नेको संख्या बढेको हो । गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् ।

सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाँय पाएका तीन फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीले भवितव्य ज्यान मुद्दाका फरार दुइ जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो ।

म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका(१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई उनिहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले उनिहरु विरुद्ध जनही एक वर्षकैद र ३०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनीहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र ३०० रुपैयाँ जरिवाना तोकिएको थियो ।

कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुइ जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–७ बस्ने नवीनलाल श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरिएको छ ।

उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तनहुँ प्रहरीले तीव्र पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button