तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितको घर प्रदेश सरकारले बनाउने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरिका बाढी पहिरो पीडितको घर प्रदेश सरकारले बनाउने बताउनु भएको छ । सोमबार गृहजिल्ला लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका बाढी पहिरो प्रभावितहरूलाई घटनास्थलमै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले लमजुङ लगायत प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोले मानवीय क्षति सहित विभिन्न बस्तीहरूका घरहरू पुरेको र प्रदेशभरि करिब ५ सय घर बनाउनुपर्ने भन्दै बाढी पहिरो पीडितहरूको घर निर्माणका लागि सङ्घीय सरकारले भूकम्प पीडित सरह राहत स्वरूप ३ लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर बाढी पहिरो पीडितहरूको घर निर्माण गर्ने उहाँको बताउनुभएको छ ।

सबै घरहरू निर्माण सम्पन्न हुनका लागि कम्तीमा साढे २ देखि तीन वर्ष लाग्ने मुख्यमन्त्री गुरुङको भनाई छ । तत्काललाई भने स्थानीय सरकार लगायतले अस्थायी रूपमा टहरा निर्माण गरिरहेको र सोही टहराहरूमा बस्नुपर्ने उहाँको भनाई छ । यस विपद् घटीमा हामी सबै सँगै छौँ तपाईँहरू चिन्ता नर्गनुस घर निर्माणको लागि सुरक्षित स्थान तथा दिगो हुने स्थानहरूमा प्रदेश सरकारले घर निर्माण गर्नेछ भूकम्पको जस्तो आवास पुनर्निर्माण ढिलाइ हुँदैन मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

त्यस्तै उहाँले पल्लोटारीका बाढी पहिरो पीडितहरूलाई प्रदेश सरकारले अहिले राहत दिनका लागि रकम कम भएको र कार्य विधि संशोधन गरेर बजेट बढाएर सहयोग गर्ने उहाँले बताउनुभयो । त्यस्तै, बाढी पहिरोमा घाइते भएका सबैको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने उहाँको भनाई छ ।

तरापु पल्लोटारीका बाढी पहिरो पीडितहरूको प्रतिनिधित्व गर्दै बाढी पहिरो पीडित अतिमान गोत्तामेले हामीलाई टहरामा मात्र नभई जतिसक्दो दिगो रूपमा घर निर्माण गरी पुर्नबासको व्यवस्था गरिदिनका लागि मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

यही साउन ७ र ८ गते गएको पहिरोले पूर्ण क्षति बनाएको तरापु पल्लोटारीका २१ घरलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सो बाढी पहिरो पीडित २१ घरलाई आर्थिक सहयोग गरेको हो । उक्त राहत मुख्यमन्त्री गुरुङले बाढी पहिरो पीडितहरूलाई हस्तान्तरण गर्नुभएको थियो । पाँच जना भन्दा कम परिवार भएका १९ परिवारलाई प्रत्येक परिवारलाई रु १५ हजार र पाँच जना परिवार भन्दा बढी भएको परिवारका २ जनालाई रु २० हजारका दरले गरी कूल ३ लाख २५ हजार रुपैयाँ सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङ सहित गण्डकी प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य मधुमाया अधिकारी, धनञ्जय दवाडी, संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ लगायतको उपस्थिति रहेको थियो । सो टोलीले राहत वितरण अघि पहिरो आएको स्थलको निरीक्षण तथा अवलोकन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button