तपाईँ सुन्दै हुनुहुन्छः

क्रसर उद्योगले खनेको खाण्डोमा नुहाउने क्रममा मृत्यु


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको वडा नंं १ मा रहेको बसही खोलामा मापदण्ड विपरित क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर आज एक युवकको मृत्यु भएको छ ।

क्रसर उद्योगले खोला छेउमै खनेको गहिरो खाल्डोमा नुहाउन पुगेका मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नुहाउने क्रममा पानीमा डुबेका महतोलाई करिव एक घण्टापछि स्थानीयहरुले पानीबाट गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएको भएपनि कोरोना संक्रमणका कारण कलेज बन्द भएपछि घरमा आएर बस्दै आएका थिए ।

खोला छेउमा स्काभेटर लगाएर मापदण्ड विपरित ग्रावेल उत्खनन् गरेको खाल्डो पोखरीमा परिणत भएपछि स्थानीयहरु त्यसमा नुहाउन जाने गरेका छन् । सोही क्रममा अनिल समेत नुहाउन पुगेका थिए । तर खाल्डो धेरै गहिँरो रहेकाले डुबेर उनको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिनु भएको छ ।

ठूलो र गहिँरो खाल्डो रहेका कारण अनिललाई बचाउन दर्जनौ स्थानीयहरुले लामो समयसम्म खोजी गरेपछि भेटाएको थियो । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button