तपाईँ सुन्दै हुनुहुन्छः

बालक माथि चितुवाको आक्रमण

तनहुँ । तनहुँमा फेरि चितुवाको आक्रमणमा परि २२ महिने बालकले ज्यान गुमाएका छन् । शुक्लागण्डकी नगरपालिका २ मसारका विष्णु र कृष्णमाया रानाका नाबालक छोरा नारायणलाई बुधवार साँझ चितुवाले आक्रमण गरेको हो । साँझ घरको पिँढीमा बसिरहेका बालकलाई आमा कृष्णमाया भित्र गएको मौका पारेर चितुवाले आक्रमण गरेको थियो ।

घटना लगत्तै जम्मा भएका छिमेकी र प्रहरीको सहयोगमा खोजी गर्दा करिब १५ सय मिटर दुरीमा रहेको जङ्गलमा टाउको एक हात क्षतविक्षत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

बिहीबार बिहान पीडित परिवारलाई सान्त्वना दिन नगरपालिका जनप्रतिनिधि सहित पुगेका जिल्ला बन कार्यालय तनहुँका प्रमुख केदार बरालले चितुवा नियन्त्रणका लागि पहल गर्ने बताउनुभयो । उहाँले पासो राख्ने जानकारी दिँदै तत्काल किरिया खर्च स्वरूप पीडित परिवारलाई ५० हजार रुपैयाँ राहत रकम प्रदान गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले चितुवाको आक्रमण बढ्न थालेकाले चनाखो भएर बस्न स्थानीयलाई आग्रह गर्नुभयो ।

जिल्लामा हालसम्म १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् भने आठ जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button