तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको भवन बनाउन आएका १३ मजदुरमा कोरोना सङ्क्रमण पुष्टि

बागलुङ । धौलागिरी अस्पताल बागलुङको भवन निर्माणका लागि आएका थप १३ जना मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा महोत्तरीबाट अस्पतालको ‘सि’ ब्लक भवन निर्माणको लागि बागलुङ आएका थप १३ जना मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

यसअगाडि उनीहरूसँगै आएका २५ वर्षीय एक पुरुषलाई सङ्क्रमण पुष्टि भएको थियो । भवन निर्माणको लागि साउन १३ गते महोत्तरीबाट १८ जना कामदारहरू बागलुङ आएका थिए । बागलुङ आए लगतै कोरोना परीक्षण गर्दा एक जनालाई सङ्क्रमण पुष्टि भएको थियो भने अन्य १७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित युवासँगै बसेका कारण १७ जनाको पुनः परीक्षण गर्दा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

महोत्तरीबाट आएर धौलागिरी अस्पतालको ‘सि’ ब्लकमै बसेका उनीहरू एक जनालाई कोरोना पुष्टि भएपछि १७ जनालाई बागलुङ नगरपालिकाको कार्यालयको क्वारेनटाइनमा राखिएको थियो ।

सङ्क्रमित १३ जनालाई आइसोलेसन कक्षमा लगिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button