तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय जरिवाना

पर्वत ।  पर्वतको कुश्मामा मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लगाउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएका कारण मास्क अनिवार्य गरेको हो । तर मास्क लगाउन अटेर गर्न थालिएपछि प्रशासनले एक सय रुपैयाँ जरिवाना लगाउन थालिएको छ ।
हिजो (शुक्रवार)बाट मास्क नलगाई हिँड्नेलाई कारबाही स्वरूप एक सय जरिवाना तिराउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
शुक्रवार पहिलो दिन २१ जनालाई कारबाही जरिवाना तिराइएको रेग्मीले बताउनुभयो । प्रहरीले बढी भिडभाड हुने चोकमा बसेर चेक जाँच गरिरहेको छ ।
गोजीमा मास्क राख्ने तर नलगाउने, मुखमा नलगाई चिउँडोमा मात्रै लगाउने र जाँच गर्दाको बखत लगाउने तर, अरू बेला वास्तै नगर्ने जस्ता लापरबाही बढेपछि कुश्मामा प्रहरीले कडाइ गर्न थालेको प्रजिअ रेग्मीले बताउनुभयो ।
पर्वत जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । छिमेकी जिल्लाहरूमा पनि सङ्क्रमण बढ्दो छ । यातायात सुचारु भएको अवस्था, बजार खुलेको र चहलपहल बढेको अवस्था समुदायमा कोरोना फैलिने त्रासका कारण मास्क अनिवार्य गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कुश्माका विभिन्न चोकमा प्रहरीले माइकिङ गरेर मास्क लगाउन सर्वसाधारणलाई अनुरोध समेत गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button