तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको चोकर्म (सेतो पोखरी) फुटेपछि खोला किनारामा बस्ने स्थानीय त्रसित

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्म भनिने सेतो पोखरी फुटेपछि खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् ।

शुक्रवार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि नुम्बुर हिमालको काखमा रहेको दूध कुण्ड पोखरी फुटेको अनुमान गर्दै खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरिएको थियो ।

खोलामा पानीको सतह बढेपछि अवस्था पहिचानका लागि दावा शेर्पासहितको एक टोली दूध कुण्ड क्षेत्रमा गएपछि चोकर्म फुटेको बताएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर जाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।

चोकर्म क्षेत्रमा रहेको ताल फुटेको खबर छ, फुटेको तालको आधा पानी बाहिरिँदा सोलु खोलामा पानीको सतह बढेको हो, मेयर शेर्पाले भन्नुभयो ।

दूध कुण्डकै आकारमा रहेको सो पोखरी पुरै फुटे खोला किनारमा रहेको बस्ती प्रभावित बन्न सक्ने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।

मौसम अनकुल हुनासाथ तालको अवस्थाबारे बुझ्नका लागि हेलिकप्टरमार्फत जाने तयारी भइरहेको मेयर शेर्पाले बताउनुभयो ।

लेदोसहितको पानीको सतह बढेपछि माथिल्लो क्षेत्रमा ताल फुटेको हुन सक्ने आङ्कलन गरिएको थियो । खोलामा पानीको सतह बढेपछि सस्रवेनीमा रहेको काठको पुलमा क्षति पुर्‍याएको छ ।

सदुरकाम सल्लेरीदेखि करिब ३० कोष उत्तर पूर्वमा रहेको दूध कुण्ड पुग्न करिब दुई दिन लाग्छ । त्यस क्षेत्रमा करिब दर्जनभन्दा बढी साना ठुला ताल रहेका छन् ।

दूध कुण्ड क्षेत्रमा रहेका स्थानीयकाअनुसार पोखरी फुटेर तीन भाग मध्ये एक भाग पानी बगिसकेको र पोखरी पूर्ण रूपमा फुट्ने खतरा उच्च रहेको छ । पोखरीको वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने स्थानीयको भनाइ छ ।

पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले बताउनुभयो ।

सोलु खोलामा पानीको बहाव उच्च हुँदा केही क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको बताइएको छ ।

अहिले पानीको बहाव केही मात्रामा कम भए पनि जोखिम कायम रहेकाले खोला किनारका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ ।

सोलु खोलाको मुहान क्षेत्रमा पर्ने सस्रबेनीमा रहेको एउटा चौर गोठ तथा तीन वटा काठे साँगु समेत बगाएको खबर आएको र थप क्षतिको विवरण सङ्कलन हुने नगरपालिकाले जनाएको छ । पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन ।

पूरै ताल फुटेर पानीको सतह धेरै माथि आएमा सोलु खोलामा निर्माणाधीन तीन वटा हाइड्रोपावरमा क्षति पुग्छ भने अन्य केही बस्ती विस्थापित हुन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button