तपाईँ सुन्दै हुनुहुन्छः

आव ०७६/०७७ मा बङ्गलादेशसँग पनि नेपालको व्यापार घाटा

 

भद्रपुर, झापा । अघिल्लो वर्ष झैँ आर्थिक वर्ष ०७६/०७७ मा पनि छिमेकी देश बंगलादेशसँगको व्यापारमा नेपालले घाटा व्यहोरेको छ ।

नेपालले ०७६/०७७ मा पूर्वी नाकाबाट हुने बंगलादेशसँगको व्यापारमा तीन अर्व ९९ करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार आ. व. ०७६/०७७ मा नेपालबाट ९५ करोड ४१ लाख ७५ हजार रुपैयाँ बराबरको सामान निर्यात हुँदा बङ्गलादेशबाट चार अर्व ९५ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ ।

दुई वर्ष अघिसम्म नाफामा रहेको बंगलादेशसँगको व्यापारमा निर्यातभन्दा आयातको अनुपात बढ्दै गइरहेको छ ।
आव ०७५÷०७६ मा एक अर्व ३२ करोड ६१ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको निर्यात हुँदा तीन अर्व ७४ करोड चार लाख ९९ हजार रुपैयाँका माल वस्तु आयात भएको तथ्याङ्कले देखाएको छ ।

नेपालबाट मुख्य रूपमा निर्यात हुने मुसुरो दालको निर्यातको परिमाण घट्न थालेपछि बंगलादेशसँगको व्यापार घाटा पनि उकालो लाग्न थालेको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ ।

बङ्गलादेशबाट गार्मेन्ट कपडा, मकै जुट, आलु, ब्याट्री आयात हुँदै आएको छ । बङ्गलादेशले नेपाली सामानमा भन्सार दर निकै लिउका कारण पनि नेपाली सामानले अन्य मुलुकका सामानसँग प्रतिस्पर्धा गर्न नसकेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button