तपाईँ सुन्दै हुनुहुन्छः

झापाका साप्ताहिक हाटबजार बन्द

झापा । समुदाय स्तरमा कोरोना फैलिएसँगै झापाका स्थानीय तहहरूले शाप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन् ।

पन्ध्र स्थानीय तहमध्ये कनकाई, बिर्तामोड, अर्जुनधारा र शिवसताक्षी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न सहरका साप्ताहिक हाटबजार बन्द गराएका हुन् ।

कनकाई नगरपालिकाले आज विज्ञप्ति जारी गरेर भदौ ५ गतेसम्मलाई हाटबजार पूर्ण रूपमा बन्द गराएको जनाएको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ ।

नगरले कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नदिन बढी भिडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरू भदौ २ गतेसम्मका लागि बन्द गरेको नगर प्रमुख चन्द्र शेर्माले बताउनुभयो ।

त्यसै गरी बिर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेसँगै नगर नै बन्दाबन्दी गरेका छन् ।

दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कनट्याक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन् । मेचीनगर नगरपालिका–१० का स्थानीयवासी १५ वर्षीय फुटबल खेलाडी कोरोना सङ्क्रमित भएको पुष्टि भएसँगै वडा नं १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ ।

दुई वटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्ध साप्ताहिक रूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

पालिकाहरूले तोकेको मापदण्ड विपरीत गएमा जो कोहीलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने ती नगरपालिकाले जनाएका छन् ।

सो ऐनमा एक महिना कारागार वा रु एक सय जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भिडभाड भएको पाइएमा कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button