तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवका जुम्ला सेक्रेटरी सहित तीनजना पक्राउ


जुम्ला । विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरी सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । शनिवार प्रहरीले तिला गाउँपालिका ७ घोडेगाउँबाट तीनलाई पक्राउ गरेको डिएसपी लाल बहादुर धामीले जानकारी दिनुभयो ।

स्थानीयतकका जनप्रतिनिधि तथा ठेकेदार लगायतका व्यक्तिहरूबाट चन्दा मागी रहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विप्लव समूहका जुम्ला सेक्रेटरी रहेका मुगु जिल्ला सोरु गाउँपालिका ६ का ३७ वर्षीया राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका ७ धाँचु गाउँका २१ वर्षीया नन्द तिरुवा र हिमा गाउँपालिकाकै १६ वर्षीया युवती सपना बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीले उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लव समूहको सदस्यता रसिद तथा अन्य किताबहरू बरामद गरिएको छ भने विभिन्न पटक जनप्रतिनिधिलाई फोन गरेर धम्काउने, तर्साउने, गाउँपालिकाको कार्यालयमा राती तालाबन्दी गर्ने तथा चन्दा मागेर हैरान गर्ने गरेका कारण गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरिरहेको छ । गोप्य सूचनाका आधारमा यसअघि पनि हिमा गाउँपालिकाबाट सेक्रेटरी सहितको केही टोली प्रहरी पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button