तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा एक सय ९ जनाले जिते कोरोना, आइसोलेसनमा दुईजना मात्रै 

लमजुङ । लमजुङमा एक सय ९ जना व्यक्तिहरूले कोरोना भाइरस (कोभिड १९) संक्रमण जितेका छन् । भारत लगायत विदेशबाट आएर कोरोना संक्रमण भएका १ सय ११ जनामध्ये १ सय ९ जनाले कोरोना जितेका हुन् ।

शनिवार मात्रै १० जनाले कोरोना जितेका छन् । कोरोना निको हुनेहरूमा बेंसीसहर नगरपालिका ९ का २३ वर्षीय पुरुष, मध्य नेपाल नगरपालिका २ का २५ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिका ७ का ३६ वर्षीय पुरुष, क्व्होलासोंथर गाउँपालिका ६ का २९ वर्षीय पुरुष, बेंसीसहर नगरपालिका १ र ११ का ३४ वर्षीय, ५१ वर्षीय, ३० वर्षीय र ३८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सुन्दरबजार नगरपालिका ६ का ३० वर्षीय पुरुष, दोर्दी गाउँपालिका १ का ४१ वर्षीय पुरुष रहेका छन् । उनीहरू सहरी विकासको भवन, सहजी आइसोलेसन र नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा बसेका थिए ।

पहिलो पटक कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाउँदा पीसीआर रिपोर्ट पोजेटिभ आएका उनीहरूको दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको हो । कोरोना निको हुनेमा महिला ९ र पुरुष एक सय जना रहेका छन् । कोरोना संक्रमण जितेसँगै उनीहरूलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

अब आइसोलेसनमा २ जना पुरुष मात्र छन् । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button