तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एक स्थानीय तहद्वारा एक सय शैयाको आइसोलेसन तयार

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आफ्नै लगानीमा एक सय शैयाको आइसोलेसन संचालनमा ल्याएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका २ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको उक्त आइसोलेसनमा आइतबार सम्ममा सो गाउँपालिकाका २८ जना संक्रमितलाई राखी उपचारको व्यवस्था मिलाइएको छ ।

सो गाउँपालिकामा मात्र अहिलेसम्ममा ८३ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । अन्य संक्रमितलाई यसअघि नै राजविराजस्थित साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राखिएको छ ।

जिल्लामा दैनिक कोरोना संक्रमित फेला पर्न थालेपछि राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको १ सय ७८ शैयाको आइसोलेसन भरिभराउ हुन लागेका कारण थप आइसोलेनसको आवश्यकता महसुस गरि गाउँपालिकाले आफ्नै लगानीमा १ सय शैयाको आइसोलेशन सेन्टर निर्माण गरेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

सप्तरीमा आइतबारसम्ममा कुल संक्रमितको संख्या ५ सय ७२ रहेको छ । जसमध्ये राजविराज नगरपालिकाका सर्वाधिक १ सय १४ जना रहेका छन् । जिल्लामा बढी संक्रमित रहेका स्थानिय तह मध्ये तिलाठी कोइलाडी गाउँपालिका दोश्रो स्थानमा छ । उक्त गाउँपालिकामा हालसम्म संक्रमितको संख्या ८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको आइसोलेसन केन्द्र निर्माण गर्ने प्रयास गरिएपनि बजेट र जनशक्तिको अभावका कारण भेन्टिलेटर र आइसियुको व्यवस्था भने गर्न नसकिएको अध्यक्ष सिंह बताउछन् । यद्दपी विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड र मान्यता अनुसारका खाद्य बस्तु प्रयोग गर्दै सोही कार्यबिधी अनुसार उक्त सेन्टरमा भोजन व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वच्छ खानेपानी, शौचालय लगायतका सुविधाका साथै एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षित रुपमा संक्रमितहरु समक्ष पु¥याउने व्यवस्था मिलाइएको र आइसोलेसनमा २ स्वास्थ्यकर्मी सहित ९ जना कर्मचारी परिचालित रहेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button