तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको गौशाला र औरही नगरपालिकामा आजदेखि लकडाउन

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकामा आजबाट बन्दाबन्दी (लकडाउन) भएको छ ।

महोत्तरीको औरही नगरपालिकाले आइतबार राती १२ः०० बजेदेखि लागु हुने गरी अनिश्चित कालका लागि लकडाउनको घोषणा गरिएको छ भने गौशाला नगरपालिकाले आइतबार ११ बजेदेखि लागु हुने गरी साउन ३१ गते राती १२ः००बजेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

दुवै नगरपालिकाले नगर भित्र अति अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यवसाय तथा कार्यालयहरू, बैङ्क, वित्तीय संस्थालगायत सबै हाटबजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

अति आवश्यक काम बाहेक नगरभित्र आवतजावत गर्न पूर्णरुपमा बन्देज लगाइएको, अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रु बाहक सवारी चलाउन नपाइने गरी लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसै गरी लकडाउन उल्लङ्घन गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही गर्ने समेत नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, जिल्ला विपत् व्यवस्थापन समिति महोत्तरीले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको २ वडामा निषेधाज्ञा जारी गरेको छ भने भंगहा नगरपालिका, बर्दिबास नगरपालिकाको वडा नं. १, २, ७ र १४ बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button