२०७७ साल असोज ८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

केही गर्नलाई उमेरले छेक्दैन, ७० वर्षीय सिग्देल कागती खेतीमा रमाउँदै

सञ्जय आचार्य २०७७ साउन २६ गते १६:३५

बर्दिया । उमेरले ७० नाघिसकेका नारायणप्रसाद सिग्देल अहिले कागती खेतीमा लाग्नु भएको छ ।

जागिरे पेसाबाट अवकाश लिई व्यापार गर्दै अहिले केही वर्षदेखि कृषि पेसा गर्दै आइरहनु भएको छ । आफू भित्र केही गर्छु र स्वरोजगार बन्छु भन्ने अठोट लिए कुनै पनि काम गरे पनि उमेरले केही फरक नपारी सफल भइन्छ भन्ने गतिलो उदाहरण हुनुहुन्छ उहाँ ।

कान्तिपुरमा २०७१ साल पुस १६ गतेमा प्रकाशित लेखबाट कृषि पेसा गर्न प्रेरणा मिलेको सिग्देल बताउनुहुन्छ ।

गुलरिया नगरपालिका–४ लक्ष्मीनारायण टोल क्याम्पस नजिक बस्ने सिग्देलले आफू एक छिन पनि खाली नबस्ने र अब बर्दियालाई कागती खेतीमा पनि चिनाउने धोको भएको बताउनुभयो । जीवनमा केही गर्ने आशा लिएर पहाडबाट तराई झर्नुभएका सिग्देलका आफ्नै पीडा रहेको र धेरै दुःख गरी यहाँसम्म पुगेको उहाँ बताउनुहुन्छ ।

१२ बर्षे जागिरे जिवनकोे भोगाई व्यापार र त्यसपछि कृषि पेसामा लागेका उहाँले आफ्नो घर पछाडिको धान खेतीमा नयाँ केही गर्छु भन्ने उद्देश्य लिएर कागती खेती सुरु गरेको बताउनुहुन्छ ।

अहिले उहाँले आफ्नो करिब सात कट्ठा जमिनमा तीन सय कागतीको बोट लगाई खेती गरिरहनु भएको । अहिले त्यही कागती खेती उहाँका लागि गतिलो आम्दानीको स्रोत बनेको छ ।

“आफ्नै घर आँगनमा पैसाको बोट रहेछ हँसिलो हुँदै सिग्देल बताउनुहुन्छ । ‘पहिला मकै र धान मात्र खेती गर्दा परिवार चलाउनै गाह्रो थियो तर कागती खेतीले मेरो थप आम्दानी बढाइदियो” यो सुनाउँदै ७० वर्षीय सिग्देल झन् मख्ख पर्नुभयो ।

‘खुला सिमानाका कारण भारतीय कागतीले सजिलै बर्दियामा जरो गाडेको थियो । भारतबाट आउने भारतीय कागती होस् वा अन्य तरकारी विषादी र महँगो समेत पर्ने हुँदा यहाँको बजारमा त्यति नरुचाए पनि उपभोक्ताहरूले नलिई सुखै थिएन ।

“घर आँगनमै पैसाको बोट र बजार रहेछ मैले ढिलो गरी यो खेती सुरु गरे” सिग्देलले भन्नुभयो ।

कान्तिपुरको लेखले थप ऊर्जा थपेको र केही समयको अन्तरालपछि आफ्नो लगानी सुरक्षित गरी कसरी काम गर्ने भनेर अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

‘लाज मानेर कहिल्यै प्रगति गर्न सकिँदैन ।’ अबका दिनमा आफूले केही भए पनि बर्दियालाई कागती खेतीमा सानो योगदान दिन सके अझै राम्रो हुने थियो उहाँ बताउनुहुन्छ ।

उहाँले थोरै लगानीमा समय मिलाएर काम गर्न सकिने देखेसँगै आफनै भूमिमा केही गर्छु भन्ने सोचेर आधुनिक तरिकाबाट कागती खेती गर्न सुरु गरेको बताउनुभयो ।

चार वर्ष हुन लाग्यो कागती खेती सुरु गरेको पनि । दुई जनाले काम पाएसँगै परिवारका सबै जनाले यत्तिखेर काम पाएका छन् । अबका दिनमा वार्षिक राम्रो आम्दानी हुने गरेको सिग्देल बताउनुहुन्छ । पम्प सेट, बिउ बिजन, तार वार लगायत अन्यमा लगानीमा सुरु गरी कृषिबाट बोट लिएर गरेको खेतीले अहिले मेरो पहिचान बनाएको छ, उनले हाँस्दै भन्नभयो ।

अहिले बर्दियालगायत बाँकेको नेपालगन्ज र कोहलपुरसम्म आफ्नो कागती जाने गरेको उहाँले बताउनुभयो ।

उमेरले ७० वर्ष नाघी सक्नुभएका सिग्देल हेर्दा हँसिलो अनि उही जोस् जागरले भरिएका देखिनुहुन्छ । परिवारसँगै घरमा बसेर अझ धेरै कमाउन सकिने रहेछ, उहाँले भन्नुभयो ।

“आफ्नै ठाउँमा गरिरहेको कामबाट खुसी छु । खान लाउन पुगेकै छ । समाज र परिवारमा सम्मान पाएको छु । अब अरू के नै चाहिन्छ त ?” विदेश बसी फर्केर आएका युवाहरूलाई त्यहाँको सिपलाई आफ्नै देशमा उपयोग गर्न सके अझ राम्रो हुने बताउनुहुन्छ उहाँ ।

उहाँको भोगाइमा काम गर्न लजाउनु नै असफल हुनु हो । उनी भन्छन् ‘लाज मानेर कहिल्यै प्रगति गर्न सकिँदैन ।’ अबका दिनमा आफूले केही भए पनि बर्दियालाई कागती खेतीमा सानो योगदान दिन सके अझै राम्रो हुने थियो उहाँ बताउनुहुन्छ ।

अबका दिनमा सरकारले पनि कागती खेतीको बारेमा चासो दिन आवश्यक रहेको र व्यापारीहरूले पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके भारतीय बजारको निर्भरतामा अलि कमी आउन सक्ने सिग्देल बताउनुहुन्छ ।

‘साँच्चै स्वदेशमै काम गर्ने मन हुने हो भने दृढ सङ्कल्प लिएर कुनै पनि काम गरे सफलता अवश्य प्राप्त हुन्छ । कामका अवसर थुप्रै छन् ।