तपाईँ सुन्दै हुनुहुन्छः

एक सय १३ वर्ष पूरानो कृष्ण मन्दिर अझै पूनर्निर्माण भएन

चौतारा। सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारास्थित एकसय १३ वर्ष पूरानो कृष्ण मन्दिर अझै पुनर्निमार्ण हुन सकेको छैन् । २०७२ साल बैशाख १२ गतेको महाभूकम्पका कारण ध्वस्त भएको मन्दिर पुनर्निमार्णका बारेमा चासो नदिँदा पुनर्निमार्ण हुन नसकेको हो ।

मन्दिर निर्माण तत्काल हुने छाँट नदेखिएपछि स्थानीय युवाहरुले चन्दा संकलन गरेर टहरोको मन्दिर बनाएर पूजाआजा र जात्रा चलाउँदै आएको छ । वि सं १९६४ सालमा बनेको पुरातात्विक महत्व बोकेको यो मन्दिर पुनर्निर्माण हुनपर्नेमा सबैले महसुस त गरेका छन् तर कार्यन्वयनमा भने चुनौती रहेको स्थानीय युवा कमलचरण कक्षपतिले बताउनु भयो । एक त आर्थिको स्रोतको अभाव र अर्को सानोतिनो बजेटले नपुग्ने भएकाले पनि मन्दिर ठड्याउन नसकेको कक्षपतिको भनाई छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का अध्यक्ष नरमान श्रेष्ठ भने मन्दिर पुर्निमार्णका लागि आफू लागि परेको जानकारी दिनुभयो । उहाँले विभिन्न निकाय, दाता र पुरातत्व विभागसँग छलफल गरिरहेको बताउँनुभयो ।

१९६४ सालमा यो मन्दिर निर्माण भएसँगै हरेक कृष्ण जन्माष्टमी यहाँ भव्य मेला लाग्दै आएको छ । दुई दिनसम्म चल्ने यो मेलामा भजनकिर्तनसहित कृष्णको प्रतिमालाई रथारोहण गर्दै बजार परिक्रमा गर्दै आएको छ । कोरोना भाइरस संक्रकमणका कारण यसपटक भने जात्रा स्थगन गरिएको कृष्ण गुठीका एक सदस्य सुरेश कसजूले जानकारी दिनुभयो । यदपी पूजाआजाका लागि खुला गरिएको यो मन्दिरमा सामाजिक दुरी कायम गरि पूजा गर्न स्काउट र नारायस्थान बाल क्लबले व्यवस्थापन गरेको छ ।

मन्दिरको ऐतिहासिक र साँस्कृतिक पक्ष

१९६४ सालमा यो मन्दिर निर्माण भएसँगै सो समयबाट नै हरेक कृष्ण जन्माष्टमीको दिन जात्रा पनि सञ्चालन हुँदै आएको छ । विभिन्न झाँकी, लाखे नाच, बाजागाजा र भजनकीर्तनसहित कृष्णको प्रतिमालाई रथारोहण गर्दै बजार परिक्रमा गरि प्रतिमालाई सिन्दुरे जात्रासहितसहित मन्दिर प्रवेश गराउने चलन रहँदै आएको छ । दुई दिनसम्म चल्ने यो जात्रामा रातभर भक्तालुहरु ब्रत बस्ने गर्छन् भने साँस्कृति कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । खासगरि पञ्चायतकालीन समयमा यहाँ देखाइने साँस्कृतिक कार्यक्रम राजनीतिक चेतनाका हिसाबले अब्बल मनिने गरिन्छ ।

साँस्कृतिक कार्यक्रममार्फत पञ्चायती निरंकुस व्यवस्थाविरुद्ध गरिएका ती साँस्कृतिक कार्यक्रमहरुले स्थानीय राजनीतिक र प्रशासनीक रैवैयाको भण्डाफोर मात्र हैन, सिंगो व्यवस्थाको बेथिति विरुद्ध धावा बोल्ने गरेको पूर्व साँसद कृष्णराज श्रेष्ठ बताउँनु हुन्छ । त्यसो त यसै मन्दिरको भित्तामा टाँस्ने गरेका गाईजात्रे भित्तेपत्रिकाले पनि तत्कालीन व्यवस्थाको विकृति र विसंतिहरुको उजागर गर्ने गरेको उहाँको कथन छ ।
अरनिको राजमार्ग बन्नु पूर्व यही मन्दिरको प्राँगन भएर बटुवाहरु काठमाण्डौंबाट तिब्बत आवतजावत गर्ने गथ्र्यो । मन्दिर वरिपरिको पेटीमा बटुवाहरुले थकाइ मात्र मार्दैन थिए, साँझको बखत यसै मन्दिरमा बास बस्ने पनि गर्थे । मन्दिर वरिपरि बटुवालाई थकाई मार्न बनाइएका चौतारी जस्तो पेटीहरुका कारण नै यस ठाउँको नाम चौतारा रहन गएको बुढापाकाहरुको भनाइ छ ।
शैक्षिक पक्ष
सिन्धुपाल्चोकको शैक्षिक गतिविधि प्रारम्भका लागि यो मन्दिरले विशेष भूमिका खेलेको छ । २००४ सालमा स्थापना भएको जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय यसै मन्दिरको छिडिबाट प्रारम्भ भएको इतिहास पाइन्छ । स्थानीय शिक्षाप्रेमीहरुले स्थानीय केटाकेटीहरुलाई जम्मा गरेर शैक्षिक गतिविधि अगाडि बढाएको र पछि यसै मन्दिरको नामबाट औपचारिकरुपमै विद्यालयको नाम राखेको स्थानीय दिपक प्रधानले जानकारी दिनुभयो । तीन तल्ले यो मन्दिरको छिडीबाट २०१२ सालमा स्थपना भएको जिल्लाकै पहिलो पुस्तकालय ग्राम विकास पुस्तकालय सञ्चालन आएको थियो । २०७२ साल बैशाख १२ गतेको भुकम्पमा मन्दिर भत्केपछि पुस्तकालयको सबै संरचना पनि पुरिएको थियो ।अहिले पुस्तकालयको नाम निशाना नै छैन् ।

भूकम्प पीडित लाभग्राहीहरुले सरकारी अनुदानमा निजी आवास पूनर्निमाण गरेर नयाँ घरमा बसिसकेका छन् । तर भूकम्प गएको ५ वर्ष कटिसक्दा पनि भगवान कृष्ण भने अझै टहरोमा नै बस्न वाध्य छन् । ऐतिहासिक पुरातात्विक, साँस्कृति, धार्मीक र शैक्षिक महत्व बोकेको यो मन्दिर पूनर्निमाणका लागि पहलकदमी लिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button