तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनकै बिचमा दैलेखमा २३ जनाले गरे आत्महत्या

दैलेख । नेपालमा बन्दाबन्दी सुरु भएसँगै आत्महत्याको दर बढेको छ । दैलेखमा मात्र यो ४ महिनाको अवधिमा २३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नुको मुख्य कारण मानसिक तनाव रहेको प्रहरीले जनाएको छ । दुल्लु नगरपालिका–१० गमौडीका एक युवकले गएको असार १० गते आत्महत्या गरे । उनी भारतको अहमदवादबाट जेठ ११ गते गाउँ आएका थिए । भारतबाट फर्किएपछि ती युवक १४ दिनसम्म क्वारेनटिनमा बसेका थिए । क्वारेनटिनबाट फर्किएको १६ दिनपछि झुन्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो ।

आत्महत्यापछि स्वाब सङ्कलन गरी गरिएको पीसीआर परीक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो । यो प्रतिनिधिमूलक घटना मात्रै हो । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका बेला ठुलो सङ्ख्यामा आत्महत्याका घटनाहरू भएका छन् । बन्दाबन्दीको अवधिमा २३ जनाले आत्महत्या गरेको र धेरैजसो मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । घरेलु हिंसा, मानसिक तनाव, आर्थिक अभाव लगायतका कारण आत्महत्या गर्ने गरेको प्रहरी निरीक्षक आचार्यको भनाइ छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ । आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । आत्महत्या रोक्न विशेष कार्य योजना बनाएर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । २०७६ चैत ११ गते बाट सुरु भएको बन्दाबन्दी २०७७ साउन ७ मा अन्त्य भएको थियो । यो अवधिमा दैलेखमा कोरोनाबाट ३ जनाको मात्र मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button