तपाईँ सुन्दै हुनुहुन्छः

तिला नदीको बाढीले मार्सी धान रोपेका खेत डुबानमा


जुम्ला । जुम्लाको तिला नदीमा आएको बाढीले यहाँका तीन स्थानीय तहका हजार भन्दा बढी मार्सी धान रोपेका खेतहरू डुबानमा परेका छन् । पूर्वमा चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि पश्चिमको त्रिवेणी ज्ुयलाका हजार भन्दा बढी खेतहरू डुबानमा परेका हुन् । गोडमेल गरी तीन महिनापछि मार्सी धान घर भित्राउने तयारीमा जुम्ली किसान हुन्छन् । तर सोमबार तिला नदीमा आएको बाढीले मार्सी रोपेका खेतभरि बालुवा भरिएपछि यस वर्ष धान उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका छन् ।

सोमबार अत्यधिक वर्षातकै बिच रेडियो नेपालकर्मी सागर परियारले गरेको स्थलगत रिपोर्टिङ अनुसार जुम्लाका डेढ दर्जन बढी ज्यूलोका एक हजार बढी मार्सी रोपेका खेतहरू डुबानमा परेका पाइएको हो । सबै खेत डुबानमा परेपछि राहतका लागि किसानले माग गरेका छन् । डुबान पर्नेमा तिला गाउँपालिकाको त्रिबेणाी ज्यूलोका ५० खेत, लुम्सेरा ज्यूलोका ५० खेत, तातोपानी गाउँपालिका १ नंं वडाभित्र पर्ने चार वटा ज्यूलोका २ सय ५० खेत, साथै पहिलो मार्सी धान खेती गरिएको लाछूँ ज्युलोका ३ सय खेत जति डुबानमा परेका छन् । तातोपानी ३ को ताँ ज्युलोका ६० खेत पनि डुबानमा परेका हुन् ।

त्यस्तै, तातोपानी गाउँपालिका २ कै टापु ज्युलोका ३० खेत, बाबिराका २० खेत, हाँकु तलि ज्यूलोका २० खेत डुबानमा परेको अनुमान गरिएको स्थानीय धन बुढाले बताउनुभयो । यता चन्दननाथ नगरपालिकाको उम्मगाड ज्यूलोका ४० खेत, श्रीढुस्का ज्यूलोका ५० खेत र रानी ज्युलोका करिब ७० खेतहरू डुबानमा परी मार्सी धान उत्पादन नै नहुने अवस्थामा पुगेका छन् ।

तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले बर्सेनि तटबन्ध निर्माण गर्दा गर्दै पनि खेतीयोग्य जमिन कटान तथा डुबानलाई रोकथाम गर्न चुनौती रहेको बताउनुभयो । यस वर्ष मार्सी धान उत्पादनमा गिरावट आउने भएकाले किसानलाई राहत दिने विषयमा पहल गरिने उहाँको भनाई छ ।

जिल्लाभरीनै आकलन गर्दा एक हजार भन्दा बढी मार्सी धान रोपेका खेत डुबानमा परेका छन् । तातोपानीका स्थानीय धन बुढा भन्छन्, “मेरो ३ मुरी खेत, डुबानमा परेका छन् । मार्सी धानका बाला भुल्ने अवस्थामा खेतभरि बालुवा भरिएको छ । यसै गरी तातोपानी २ जर्मीगाउँका रवि बुढाका ५ मुरी, झरसिंह बुढाका ५ मुरी, नरेन्द्र बुढाका ३ मुरी, पशु खड्का ३ मुरी गरी जर्मीगाउँका ४० जनाको करिब ७० मुरी धान उत्पादन हुने खेत अर्थात् डेढ सय खेत डुबानमा परेका छन् ।”

सयौँ क्वीइन्टल धान उत्पादन हुने खेतमा बालुवा मात्रै भरिएपछि उत्पादनमा गिरावट आउने ४÷५ महिनाकै गुजारा चलाउन मुस्किल हुने चिन्ता छ । किसान लोक बहादुर दमाई भन्छन्, “२÷३ भारी खेत थिए सबै डुबानमा परिसके अब मार्सी धानको नौली खान पनि नपाइने भयो । न बालुवा निकालेर अन्य बाली लगाउने नपाई न धान उत्पादन हुने, यस वर्ष बाझै खेत हेरेर बस्नु पर्ने अवस्था आयो ।”

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले किसानलाई नआत्तिन आग्रह गर्नुभएको छ । डुबानमा परेका सबै खेतमा मार्सी उत्पादन नहुने भन्ने पनि हुँदैन । के कति क्षति भएको, धान उत्पादन हुने अवस्था छ कि छैन, सबै अवस्था बुझेर किसानलाई जानकारी गराइने उहाँको भनाई छ ।

बुधवार कृषि विज्ञ सहितको टोली लिएर डुबानमा परेका खेतहरू अनुगमन गर्न जाने तयारी भइरहेको छ । अनुगमन पश्चात् धान उत्पादनमा गिरावट आउने वा नआउने भन्ने बारे यकिन हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button