तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहहरु मिलेर पिसिआर मेसिन खरिद गर्ने


बारा । बाराको १६ वटै स्थानीय तहहरु मिलेर पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । जिल्लामा आज बसेको बिपत व्यवस्थापन समितीको बैठकले सबै स्थानीय तहहरुको स्वामित्व कायम हुने हिसाबले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

पिसिआर खरिद र व्यवस्थापनको लागि लाग्ने कुल खर्चको १४.५ प्रतिशत प्रत्येक उपमहानगरपालिकाले, ७ प्रतिशत प्रत्येक नगरपालिकाले र ४ प्रतिशत प्रत्येक गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । यसरी खरिद गरिएको पिसिआर मेसिन नारायणी अस्पताल वीरगंज पर्सासँग द्धिपक्षीय समझदारी हुनेछ । आवश्यक जनशक्ति तथा व्यवस्थापनको संयोजन स्वास्थ्य कार्यालय बारा, कलैयाका प्रमुखले गर्ने बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो ।

यसभन्दा अगाडि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाले आ–आफनो क्षेत्रको संक्रमण आशंकित व्यक्तिहरुको स्वाब परिक्षणको लागि छुटछुटै पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । बिपत व्यवस्थापन समितीले पिसिआर मेसिन खरिद र व्यवस्थापनको खर्च २ करोड भन्दा बढी अनुमान गरिएको छ ।

सबै स्थानीय तहहरुले आफ्ना पालिका क्षेत्रहरुमा संक्रमणको आशंकित व्यक्तिहरुको परिक्षणको लागि उपमहानगरपालिकाले ४ हजार, नगरपालिकाले २ हजार र गाउँपालिकाले १ हजार थान भिटिएम मेसिन खरिद गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जिल्लामा २ वटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button