तपाईँ सुन्दै हुनुहुन्छः

निजी अस्पतालले भर्ना लिन नमान्दा मृत्यु भएका किशोरको कोरोना रिपोर्ट नेगेटिभ

भद्रपुर, झापा । झापामा निजी अस्पताल चहार्दाचहार्दै उपचार नपाएर मृत्यु भएका कनकाई नगरपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोरको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

मेची अञ्चल प्रादेशिक अस्पताल भद्रपुरमा मङ्गलवार बिहान उनको मृत्युपछि स्वाब सङ्कलन गरिएकोमा साँझ रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका रोशन सुनारको झापाका निजी अस्पतालले उपचार गर्न नमान्दा मङ्गलवार मृत्यु भएको थियो ।

उनका परिवारले सुरूंगाको मेरिगोल्ड, बिर्तामोडको विर्तासिटी, कनकाई र मनमोहन अस्पतालमा उपचारका लागि लगे पनि अस्पतालले बिरामीको पीसीआर रिपोर्ट भए मात्र भर्ना गर्ने भनेपछि बिरामीलाई प्रादेशिक अस्पताल मेचीमा लगिएको थियो ।

मेची प्रादेशिक अस्पतालले भर्ना लिएर उपचार सुरु गरे पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिन थालेपछि उनलाई आइसियुको आवश्यकता परेको भन्दै नजिकैको ओमसाई पाथीभरा अस्पताल लैजान बिरामीका आफन्तलाई सो अस्पतालले सल्लाह दिएको थियो ।

तर, त्यहाँ पनि बिरामीको पिसिआर रिपोर्ट मागिएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button