तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण सम्पन्न भएको सात वर्षपछि रामघाट सवस्टेशन सञ्चालनमा

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा निर्माण सम्पन्न भएको सात वर्षपछि रामघाट सवस्टेशन सञ्चालनमा आएको छ ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन अन्तर्गत रामघाट सवस्टेशनसम्म ११ केभी लाइन पुगेपछि आजबाट लोड दिएर सञ्चालनमा ल्याइएको हो ।

२०६८ सालमा निर्माण सुरु भएको सवस्टेसन २०७० जेठमा सम्पन्न भएको थियो । दुई वर्षमा सम्पन्न भएको सबस्टेसन ११ केभीका तीन वटा फिडर निर्माण गरी ६० वटा ट्रान्सफर्मर जडान गर्न समय लागेकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताउनुभयो ।

अब सुर्खेतमा लाइन ट्यापिङ गर्दा हुने ट्रिपिङको समस्या पनि समाधान हुने अपेक्षा राखिएको छ । करिब पाँच करोड ५० लाख रुपैयाँ लागतमा सवस्टेसन सम्पन्न भएको थियो ।

रामघाटमा सवस्टेशन सञ्चालनमा आएसँगै पूर्वी सुर्खेतका झण्डै २५ हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने अपेक्षा राखिएको छ ।

‘सवस्टेसनको पहिलो फिडर सञ्चालन भएको छ,’ उहाँले भन्नुभयो, ‘दोस्रो फिडर पनि केही दिनमै सञ्चालन हुँदैछ । तेस्रो फिडरको वन क्षेत्रमा समस्या भएकाले केही ढिलो हुने देखिन्छ ।’ उहाँका अनुसार सवस्टेसनबाट रामघाट–छिन्चु–हर्रे, रामघाट–दशरथपुर–कल्याण–चिङगाड र रामघाट–जहरे–बोटेचौर फिडर सञ्चालन हुनेछन् ।

सवस्टेसन सञ्चालन भएपछि ३३ केभी लाइन ट्यापिङ गरेर सेवा दिँदै आएकोमा अब ११ केभी लाइनबाट ग्राहकले विद्युत् सेवा पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button