तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा थप तीन दिन निषेधाज्ञा जारी

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले साउन २५ गते आइतबारदेखि साउन २९ गते बिहीबार पाँच दिनसम्मका लागि जारी गरेको निषेधाज्ञालाई तीन दिन थप गर्ने निर्णय गरिएको जनाएको छ ।

कोरोना सङ्क्रमण समुदाय स्तरमै केही व्यक्तिमा देखिएको र समुदायस्तमै थप सङ्क्रमण फैलिँदै जान सक्ने खतराभन्दै नियन्त्रण गर्नका लागि बर्दियामा साउन २५ गते आइतबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो ।

२९ गते बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले थप तीन दिन साउन ३२ गते मध्यरातसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भएको छ ।

निषेधाज्ञाको उल्लङ्घन तथा अवज्ञा गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही समेत हुने अधिकारीले बताउनुभयो ।

छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदाय स्तरमा बढ्न थालेपछि बर्दियामा पनि जिल्ला समन्वय समिति , आठ पालिका प्रमुख, स्वास्थ्य प्रमुख, तथा सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा भएको छलफलबाट निषेधाज्ञा गर्ने निर्णय गरिएका प्रजिअ अधिकारीले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई बर्दिया प्रशासनले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button