तपाईँ सुन्दै हुनुहुन्छः

जगदम्बा स्टिल सिमराका कोरोना भाईरस सङ्क्रमित मजदुरहरू फरार, उद्योगमा प्रशासनले गर्यो निषेधाज्ञा

बारा । जगदम्बा स्टिल सिमरा, बाराका ६ जना कोरोना भाईरस सङ्क्रमित मजदुरहरू फरार भएका छन् । मङ्गलवार उद्योगका ११ जना मजदुरमा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । जसमध्ये ६ जना भारतीय मजदुरहरू अहिलेसम्म फरार रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

फरार भएका ६ जना सङ्क्रमित व्यक्तिहरूको मोबाइल नम्बर सहितको विवरण उद्योगलाई सार्वजनिक गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासन वा स्वास्थ्य संस्थामा सम्पर्कको व्यवस्था गर्न लगाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन उद्योगलाई भनिएको छ । दुई दिन भित्र सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूको स्थान विशेष सहितको विवरण उद्योगलाई सार्वजनिक गर्न जिल्ला प्रशासनले पत्र लेखेको छ ।

कन्ट्रयाक्ट ट्रेसिङ्गका अधारमा सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी पिसिआर परीक्षणको व्यवस्था मिलाउन उद्योगलाई भनिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । कामदारहरूको पिसिआर परीक्षण नहुँदा सम्मको लागि उद्योगमा निषेधाज्ञा लागु गरिएको छ । उद्योगका मजदुर तथा कर्मचारीलाई भित्रै राखी निषेधाज्ञा अवधिसम्म भित्रबाहिर आवतजावत गर्न निषेध गरिएको छ ।

एउटा गेटबाट मात्र खाना र पानीको व्यवस्था भित्र रहेका मजदुर तथा कर्मचारीलाई गर्न निर्देशन गरिएको छ । हिजो राति जगदम्बा स्टिलले ट्रकमा लुकाएर ल्याएका २५ जना मानिसबाट उद्योग चलाउन खोज्दा स्थानीयले विरोध गरेका थिए । ट्रकमा ल्याएका मजदुरहरूलाई प्रहरीको रोहबरमा स्थानीय होटेलमा क्वारिन्टनको व्यवस्था गरिएको थियो । आक्रोशित स्थानीयहरूले उद्योगमा ताल्चा लगाई साँचो जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देवी चौधरीलाई बुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button